नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारी/कतारी टोलि आजै स्वदेश फर्कँदै

Nepal-Qatar-Agreement

वैशाख १२, काठमाडौं,  नेपाल र कतारबीच विभिन्न आठवटा क्षेत्रमा द्विपक्षीय लगानी एवं सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता पछि विभिन्न ६ वटा विषयमा सहकार्य गर्ने समझदारि भएको हो ।
दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले बताए ।
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले छ वटा विषयमा होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो भने २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ । निजी क्षेत्रमा नेपालको तर्फबाट एफएनसीसीआई र कतारका चेम्बर अफ कमर्स बिचमा हस्ताक्षर भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि थानी पहिलो पल्ट मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुने र आजै दिउँसो २ बजेपछि कतारीटोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।