धौवादी फलाम कम्पनीको ४५ प्रतिशत सेयरको लागि परियोजना सोकेस गरिँदै

falam

बैशाख १२, कावासोती,
धौवादी फलाम कम्पनी लिमिटेडको निजी क्षेत्रलाई दिने भनिएको ४५ प्रतिशत सेयरको लागि सरकारले परियोजना सोकेस (प्रदर्शन) गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले वैशाख १६ र १७ गते हुने अन्तराष्ट्रिय लगानी सम्मेलनमा धौवादी फलाम खानि परियोजना पनि सोकेस गर्न लागेको हो ।

सम्मेलनमा ३६ देशका ४६२ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने सुनिश्चित भएको लगानी बोर्डले जनाएको छ । बोर्डले सम्मेलनमा निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत गरी ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ भन्दा बढी परियोजना सोकेस गर्ने तयारी गरेको छ ।

त्यस्तै विभागले १२ वटा खानी सम्बन्धी परियोजनामध्ये एउटाको लागि सेयर साझेदारी, तीन वटाको लागि खोजतलास (अन्वेषण) लाइसेन्स र सात वटाको लागि उत्खनन लाइसेन्स खुलाउने तयारी समेत गरेको छ । त्यस्तै दुई वटा पेट्रोलियम अन्वेषण तथा उत्खननको लाइसेन्स खुलाउन थालिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए ।

महानिर्देशक घिमिरेका अनुसार विभागले सुन, फलाम, पेट्रोलदेखि, चुनढुंगा लगायत १२ वटा खानीको लागि लाइसेन्स खुलाउन लागेको हो। यी खानीहरू लगानी सम्मेलनमा सोकेस गरिने र लाइसेन्स लिनको लागि आह्वान गरिने छ ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनमा प्रदर्शन गर्ने परियोजनाको अन्तिम सूचीमा धौवादि फलाम खानि पनि रहेको बताएका हुन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि फलाम खानी उत्खननका लागि प्रक्रिया अघि बढाइ सकिएको छ। केहि वर्षअघि नै त्यहाँ दस किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले फलाम उत्खननका लागि प्रक्रिया अगाडि बढाएको हो। सरकारले ०७६ सालमै खानीबाट फलाम निकाल्न सरकारको ५५ प्रतिशत र निजी ४५ प्रतिशत सेयर स्वामित्व रहेन गरी धौवादी फलाम कम्पनी गठन गरेको थियो। मुलुकका उद्योगहरूलाई आवश्यक पर्ने फलाम स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सरकारले कम्पनी स्थापना गरेको हो।

यसअघि हुप्सेकोटको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो।

चिनियाँ प्रयोगशालाले यो खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो। उक्त खानीमा करिब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्दले बताए ।

पूर्व–पश्चिम राजमार्गको डन्डा बजारबाट २७ किलोमिटर उत्तरमा धौवादी फलाम खानी छ। खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाटै फलाम खानीको अध्ययन गर्दै आएको थियो।

सरकारले स्वदेशमै फलाम उत्पादनका लागि धौवादी फलाम कम्पनीको स्थापना गरी पूर्वपश्चिम राजमार्गको नवलपरासी ९सुस्ता पूर्व० को कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिकास्थित धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा अध्ययन अनुसन्धान कार्य आर्थिक वर्ष ०७६,०७७ देखि गर्दै आइरहेको छ। उक्त खानी सञ्चालनमा आएमा नेपालको अर्थतन्त्रमा ४ प्रतिशत योगदान पुग्ने सरकारी रेकर्ड छ।