पुरुष यौनाङ्ग क्यान्सर विश्वभर अत्याधिक विकराल, किन बढ्दैछ ?

एक पुरुषले आफ्नो लिङ्गमा गिर्खा पलाएको अनुभव गरे । ६३ वर्षीय उनी थुप्रै स्वास्थ्य संस्थामा धाए । तर समस्या पत्ता लागेन ।

‘चिकित्सकहरुले बोसो बढेर मासु पलाएको भन्दै मलाई औषधि खान सिफारिस गर्थे । औषधि खाएपनि लिङ्गमा पलाएको गिर्खा घटेन, बरु बढ्दै गयो । जसको सिधा असर वैवाहिक जीवनमा पर्न थाल्यो,’ उनी भन्छन् ।

बिस्तारै श्रीमती र आफूबीच यौन सम्बन्धमा कमी थालेको उनले महसुस गरे । अन्तत : पाँच वर्षपछि उनले थाहा पाए, आफूलाई लिङ्गको क्यान्सर भएको रहेछ ।

‘यो मेरो परिवारको लागि एकदमै पीडादायी झट्का थियो । मैले क्यान्सरबाट बच्न लिङ्गको केही भाग काट्नुपर्‍यो । जसले आफू चकनाचुर भएको महसुस भयो,’ उनी भन्छन्, ‘यो यस्तो क्यान्सर हो जसको बारेमा कसैसँग खुलेर भन्न सकिंदैन । किनकि, हाँसोको पात्र बन्न डर लाग्दो रहेछ ।’

यो क्यान्सर दुर्लभ रोगमध्ये एक हो । दुर्लभ भएपनि लिङ्ग क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या विश्वभर लगातार बढिरहेको छ ।

पछिल्लो अध्ययनअनुसार ब्राजिलमा पेनाइल क्यान्सरको दर धेरै उच्च छ, अर्थात् प्रत्येक एक लाखमा २.१ मा यो रोग छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ देखि २०२२ सम्ममा देशमा लिङ्गको क्यान्सरका २१ हजार केस दर्ता भएका थिए । सो क्यान्सरबाट चार हजारभन्दा बढीले ज्यान गुमाए ।

र, विगत एक दशकमा यो क्यान्सरका कारण साढे ६ हजारभन्दा बढीले आफ्नो लिङ्ग काट्नु परेको छ । यसको मतलव औसतमा प्रत्येक दुई दिनमा एक जनाको लिङ्गको शल्यक्रिया हुन्छ ।

ब्राजिलको सबैभन्दा अविकसित प्रान्तमध्येको एक मारान्हाउमा, प्रत्येक एक लाख  पुरुषमध्ये ६.१ मा लिङ्गको क्यान्सर पीडित भेटिन्छन् । जुन संसारमा सबैभन्दा उच्च दर हो ।

लिङ्गको क्यान्सरका लक्षण प्रायः त्यसमा भएको घाउबाट सुरु हुन्छ, जुन निको हुँदैन र लिङ्गबाट धेरै दुर्गन्धित स्राव हुन्छ । यदि यो क्यान्सरबारे छिट्टै पत्ता लाग्यो भने शल्यक्रियाद्वारा गिर्खा हटाई रेडियोथेरापी वा केमोथेरापी मार्फत निको पार्न सकिन्छ ।

तर यदि लिङ्गको क्यान्सरलाई यथास्थितिमा राखियो वा उपचार गरिएन भने लिङ्गको सम्पूर्ण भाग काट्नुपर्ने हुनसक्छ । कतिपय अवस्थामा नजिकका अन्य यौनाङ्गहरू अर्थात् अण्डकोष पनि काट्नुपर्ने हुनसक्छ ।

क्यान्सरबाट छुट्कारा पाउन आफ्नो लिङ्गको एक भाग शल्यक्रिया गरेर काट्नुपरेको समय निकै कठिन रहेको जोआओ बताउँछन् ।

‘जनवरीमा शल्यक्रिया भयो । यो यस्तो अवस्थाबाट गुज्रिनुपर्छ भनेर कहिल्यै सोचेका थिइनँ ।’

‘शल्यक्रिया गर्नुपर्छ भन्दा धेरै डराएको थिएँ । तर मसँग अर्को विकल्प थिएन । शल्यक्रियापछिका केही सातासम्म म धेरै दु:खी थिएँ । आफ्नो लिङ्गको एक भागबाट वञ्चित हुनु एकदमै डरलाग्दो अनुभव भोगें ।’

कतिपय बिरामीको लिङ्ग पूरै काट्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूको जीवन पूर्ण रूपमा परिवर्तन हुन्छ ।

के भन्छन् चिकित्सक ?

ब्राजिलस्थित साओ पाउलोको एसी क्यामेरागो क्यान्सर सेन्टरको युरोलोजी विभाग प्रमुख डा. थियागो क्यामेलो मोउराओ भन्छन्, ‘लिङ्गको आंशिक भाग काट्दा लिङ्गबाट पिसाब बगिरहन्छ । यद्यपि,  जब लिङ्गको पूरा भाग काटिन्छ, तब मूत्रनली मलद्वार र अण्डकोषबीचको भागतर्फ मोडिन्छ । जसकारण बिरामीले शौचालयको सिटमा बसेर पिसाब फेर्नुपर्छ ।’

लिङ्ग क्यान्सरको कारण

विज्ञहरुका अनुसार लिङ्गको क्यान्सर हुनुका धेरै कारण हुनसक्छन् । यसमा लिङ्गको बाह्य भागको छाला मोटो हुनु र धुम्रपान मुख्य हुन् ।

त्यसबाहेक यौनाङ्गको सरसफाइमा ध्यान नदिंदा पनि यो क्यान्सरको सम्भावना हुनसक्ने ब्राजिलियन सोसाइटी अफ युरोलोजीका मौरिसियो डेनर कोर्डेइरो बताउँछन् ।

‘धेरैले लिङ्गको बाहिरी छालालाई हटाएर राम्ररी सफा गर्दैनन् । र, छालामुनि फोहोर जम्मा भएर बस्छ । नतिजा, ब्याक्टेरियाको सङ्क्रमण अत्यधिक हुन पाउँछ । बारम्बार सङ्क्रमण भइरहेमा ट्युमर बन्ने खतरा बढ्छ,’ उनी भन्छन् ।

साथै, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमण हुनु पनि लिङ्ग क्यान्सरको जोखिम बढ्नुको एउटा कारण रहेको मौरिसियो बताउँछन् । एचपीभी अन्य भाइरससँग धेरै मिल्दोजुल्दो विषाणुयुक्त भाइरस हो । अधिकतर यी भाइरसहरूले पुरुषमा लिङ्गको साथै महिलामा पाठेघरको मुखको क्यान्सर निम्त्याउन सक्छ ।

यस भाइरससँग सम्बन्धित क्यान्सरबाट बच्न एचपीभी खोप निकै प्रभावकारी उपाय हुनसक्छ ।

ब्राजिलमा किन बढ्यो यो क्यान्सरको दर ?

मौरिसियो कोर्डेइरो भन्छन्, ‘ब्राजिलमा भ्याक्सिनको उपलब्धता भएपनि महिलाहरुमा एचपीभी खोपको दर ५७ प्रतिशत मात्र छ । पुरुषमा ४० प्रतिशतले मात्र पाएका छन् । जबकि यो रोगको रोकथामका लागि कम्तीमा ९० प्रतिशत खोप आवश्यक हुन्छ ।

यसको प्रभावकारिताको आशंका र खोप अभियानको अभावका कारण यसको खोप दर न्यून रहेको त्यहाँका जानकारहरू बताउँछन् ।

तर यो समस्या ब्राजिलमा मात्रै सीमित छैन । हालै गरिएको अध्ययन तथा अनुसन्धानअनुसार लिङ्ग क्यान्सरका बिरामीको सङ्ख्या विश्वभर बढिरहेको छ ।

सन् २०२२ मा जेएमआईआर पब्लिक हेल्थ एन्ड सर्भिलेन्स नामक पत्रिकाले ४३ देशको पछिल्लो तथ्यांक विश्लेषण गरेर प्रतिवेदन प्रकाशित गरेको थियो ।

जसमा सन् २००८ देखि २०१२ को बीचमा अफ्रिकी देश युगान्डामा (प्रत्येक एक लाख मानिसमध्ये २.२ मा सो क्यान्सर पाइएको छ, जुन उच्च दर हो । ब्राजिलपछि थाइल्याण्डमा लिङ्ग क्यान्सरका बिरामी भेटिन्छन् । त्यस्तै सबैभन्दा कम दर कुवेतमा प्रति १ लाखमा ०.१ मात्र रहेको छ ।

चीनको सन यात्सेन युनिभर्सिटीका लिवेन फु र तियान टियानको नेतृत्वमा गरिएको अनुसन्धानले भन्छ, ‘यो क्यान्सर र यसबाट हुने मृत्युको भार सबैभन्दा बढी विकासशील देशहरू झेलिरहेका छन् । जहाँ सन् १९७९ देखि २००९ बीच यसको दर बढेर १.१ बाट १.२ पुगेको छ ।’

ग्लोबल क्यान्सर रजिस्ट्रीको पूर्वानुमान अनुसार यी तथ्यांक अझै बढ्ने अपेक्षा गरिएको छ । रजिस्ट्रीले सन् २०५० सम्म विश्वभर लिङ्ग क्यान्सरको बिरामी ७७ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

विज्ञहरूका अनुसार प्रतिशत बढ्नुको मुख्य कारण बुढ्यौली जनसंख्या हो । विकसित देशमा औसत आयु बढ्दो छ । त्यसैले धेरैजसो बिरामी सातौं दशकका वृद्धवृद्धामा देखिएको छ ।

सावधानी जरुरी

मौरिसियो कोर्डेइरो भन्छन्, ‘यो दुर्लभ रोगको रोकथाम गर्न सकिन्छ । सबै उमेरका पुरुषहरूले यौन सम्पर्कपछि हरेक दिन आफ्नो लिङ्ग साबुन र पानीले धुनु महत्त्वपूर्ण हुन्छ ।’

उनका अनुसार यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्ने र लिङ्गको टुप्पोमा औंठी जस्तो आकार बन्ने समस्या भएका व्यक्तिले सर्कमसिजन भनिने शल्यक्रिया गरेर लिङ्गको टुप्पो हटाउन सकिन्छ । यसले क्यान्सरको जोखिम पनि कम गर्छ ।

लिङ्गको शल्यक्रियापछि जोआओको अनुभव

करिब तीन महिनाअघि लिङ्गको शल्यक्रिया गराएका जोआओ हाल गरेको परीक्षणको नतिजाका लागि पर्खिरहेका छन् । जुन यसै वर्षपछि प्राप्त गर्नेछ । उनी भन्छन्, ‘यी परीक्षणको नतिजाले मेरो रोग निको भइसकेको प्रमाणित हुनेछ भन्नेमा म विश्वस्त छु । अहिले मेरो लिङ्गको एक भाग काटिएपछि मेरो दुखाइ हटेको छ । र, म पहिलेभन्दा निकै राम्रो महसुस गरिरहेको छु । तर बाँकी समयका लागि मेरो लिङ्गको एक भाग काट्नुपर्ने कठोर वास्तविकतासँगै बाँच्नुपर्नेछ ।’

ब्रिटिस क्यान्सर रिसर्चका अनुसार लिङ्गको क्यान्सर भएको पत्ता लागेका ९० प्रतिशतभन्दा बढी पुरुषहरूमा यदि लिम्फ नोड (क्यान्सर प्रभावित भागको सन्निकट गाँठो)मा फैलिएको छैन भने अर्को पाँच वर्षसम्म बाँच्न सक्छन् ।

बीबीसीकाे सहयाेगबाट