के हाे मिसोफोनिया ? यस्ताे छ उपचार विधि ।

ढोका खोल्दा वा बन्द गर्दा, चर्को स्वरमा कुरा गर्दा, सवारीसाधन गुड्दा वा सुतेको बेला कसैले घुर्दा आउने आवाज धेरैका लागि सामान्य लाग्छ । तर हामीमध्ये केहीलाई यी आवाजले तनाव दिन्छ । झर्को लगाउँछ, रिस उठ्छ । एकछिन पागल झैं बनाउँछ । न प्रभावित व्यक्तिलाई किन यस्तो भएको थाहा हुन्छ न त उसको समस्या अन्य कसैलाई पत्तो हुन्छ ।

यस्तो समस्यालाई विज्ञले मिसोफोनिया वा सेलेक्टिभ साउन्ड सेन्सिभिटी सिन्ड्रोम नाम दिएका छन् ।

मिसोफोनिया कस्तो समस्या ?

यो एक मनोरोग हो । जुन भावनात्मक कारणले गर्दा कुनै आवाजलाई सहन कठिन हुन जान्छ । यो समस्या हुँदा सबै आवाजले नभई केही आवाज कानमा पुगेपछि भावनात्मक वा शारीरिक प्रतिक्रियामा असर पुग्छ । यस्तो आवाजले रिस उठाउने वा डराउने बनाउन सक्छ । कहिलेकाहीं अन्य असामान्य प्रतिक्रिया समेत देखिन्छ ।

कस्तो हुन सक्छन् ती आवाज ?

घडीको सुईको टिकटिक, पन्छी वा जनावर कराउनु, कसैको हिंड्दा पाइलाको आवाज, खाना चपाउँदा आउने आवाज, दुईटा भाँडा घोटिंदा, मोटर गाडी वा ठूला मेसिन लगायत जुनसुकै आवाज हुनसक्छ ।

यो समस्या किन हुन्छ ?

यो समस्याको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । तर अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी), टिनाइटस (कानमा अनौठो आवाज बज्नु), हाइपरक्युसिस (सामान्य आवाज पनि धेरै ठूलो सुन्नु), अटिजम र सेन्सरी प्रोसेसिङ डिसअर्डरबाट प्रभावित व्यक्तिमा यो समस्या देखिन्छ ।

मस्तिष्कमा आवाज पहिचान गर्ने भाग ‘अडिटरी कर्टेक्स’मा बाह्य आवाज पास हुँदा असामान्य किसिमको तरंग उत्पन्न भएमा यो समस्या हुनसक्छ ।

मस्तिष्कमा उत्पादन हुने सेरोटोनिन र डोपामाइन जस्ता न्युरोट्रान्समिटरको कमीले पनि मिसोफोनियाका लागि जिम्मेवार हुने केही अध्ययनले देखाएका छन् । मानसिक तनाव, मनोरोग र आघातले पनि कुनै वस्तुको आवाज सुन्न नसक्ने अवस्था हुनसक्छ ।

लक्षणः

यो समस्याबाट पीडित व्यक्ति आफूलाई अप्रिय लाग्ने आवाजमा आफ्नो रिस आवेगमा पोख्छन् । केही व्यक्ति आवाजलाई सुन्न नसकी कान थुन्दै सो वातावरणबाट बाहिरिन्छन् ।

कतिपयमा यस्तो आवाजले नर्भस बनाउने, शरीर तातो हुने, रक्तचाप बढ्ने, छाती दुखेको जस्तो, शरीरभरि नै एक किसिमको दबाब परेको जस्तो अनुभव गराउन सक्छ ।

यस्ता आवाजबाट बच्नकै लागि उनीहरू एकान्तमा बस्न रुचाउँछन् । किनकि आवाजहरूले उनीहरूको मनमा एक किसिमको डर पैदा गर्छ । यही कारणले उनीहरू कुनै पनि काम राम्रोसँग गर्न पनि नसक्ने हुन्छन् ।

यो समस्याले बढी कस्ता व्यक्तिलाई प्रभावित पार्छ ?

यो समस्या जोसुकैलाई जुनसुकै उमेरमा हुनसक्छ । कतिपय अध्ययनले मिसोफोनिया तुलनात्मक रुपमा किशोरावस्थामा बढी हुने देखाएको छ । र, जीवनको कुनै न कुनै उमेरमा पाँचमध्ये एक जनाले यो समस्या भोग्ने गर्छन् ।

मिसोफोनियाले सम्बन्धमा गहिरो असर पार्न सक्छ । बालबालिकामा यसको लक्षण छ भने उनीहरूको स्कुल पर्फमेन्स, अरूसँग गर्ने व्यवहारमा फरक आउँछ । उनीहरू होहल्लामा बस्न नसक्ने हुँदा स्कुल जान पनि मन नगर्न सक्छन् ।

साथीको आवाज सुन्न पनि कठिन हुने र आफ्नो समस्या बताउँदा पनि नबुझ्दा व्यक्तिमा थप तनाव हुन्छ । कहिलेकाहीं त यही कारणले परिवारबाट नै टाढा जान मन हुनेसम्म हुनसक्छ ।

हाइपरक्युसिससँग मिल्दोजुल्दोः

सानो स्वर सामान्य रूपमा कानले ग्रहण गर्नुको सट्टा असहज रुपमा ग्रहण गर्ने अवस्था हाइपरक्युसिस हो । हाइपरक्युसिस र मिसोफोनियामा दुवै अवस्थामा आवाजले दैनिकी बिगार्छ । यी दुईमा फरक के  छ भने हाइपरक्युसिस भएमा आवाजले गाह्रो पार्ने र कानमा नमिठो दुखाइको अनुभव हुनसक्छ ।

तर मिसोफोनिया आवाजले भावनात्मक रुपमा असर पार्छ । यसले शारीरिक पीडा कम दिन्छ । मानसिक रुपमा विचलित पार्छ ।

मिसोफोनियाको उपचारः

यो समस्याको यही उपचारले निको पार्न सक्छ भनेर किटान गर्न सकिने अवस्था छैन । अहिले पनि यसको कारण र उपचारमा के प्रभावकारी हुन्छ भनेर खोज जारी छ ।

वर्तमान समयमा यसको उपचार पत्ता नलागे पनि विभिन्न उपचार विधि अपनाएर लक्षण कम गर्ने प्रयास गरिन्छ । जसमा म्यानेजमेन्ट प्रोटोकल, टिनाइटस रिट्रेनिङ थेरापी, कग्नेटिभ थेरापी र मनोपरामर्श पर्छन् ।

म्यानेजमेन्ट प्रोटोकलको सेवामा मिसोफोनियाबाट पीडित व्यक्तिलाई ६ देखि १२ हप्तासम्म विभिन्न आवाजको सम्पर्कमा राखेर परीक्षण गरिन्छ ।

त्यस्तै, टिनाइटस रिट्रेनिङ थेरापीमा समस्या भएकाका लागि सहज ध्वनिको मात्रा कतिको भनेर पत्ता लगाई बिस्तारै सहज गराउँदै ध्वनि बढाउँदै लैजाने पनि गरिन्छ । यो विधि पनि प्रभावकारी हुनसक्छ ।

हेडफोन प्रयोग गरी मनपर्ने संगीत सुन्ने गरेमा पनि दिमागलाई ट्रिगर पार्ने आवाजबाट बच्न सकिन्छ ।