चिनीयाँ ठेकेदारले भुक्तानी नदिएपछि क्रसर व्यवसायी आन्दोलित, १५ दिनभित्र रकम नदिए तालावन्दी गर्ने चेतावनी

  • समाचार
  • २०८१ कार्तिक १५, बिहीबार १३:१५

बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते ।  नारायणघाट–बुटबल सडक खण्ड विस्तारका क्रममा प्रयोग भएका सामाग्री उपलब्ध गराएका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । लामो समयसम्म पनि चिनीयाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले निर्माण सामग्री उपलब्ध गराएका उद्योगी व्यवसायीको रकम भुक्तानी नदिएको भन्दै आन्दोलित भएका हुन् ।

क्रसर व्यवसायी र ढुंगा, गिट्टी, बालुवा सप्लायर्सले मंगलबारदेखि प्लेकार्डसहित चिनीयाँ ठेकेदार कम्पनीको पश्चिम खण्डमा धर्नासहित आन्दोलन सुरु गरेका नेपाल रोडा, ढुंगा व्यवसायी समिति, नवलपुरका अध्यक्ष भोजेन्द्र रायमाझीले जानकारी दिए ।

व्यवसायीहरुले ढुवानी व्यवसायीहरुको भुक्तानी कहिले हुन्छ ?, चाइना स्टेट कर्पोरेशनको प्रतिनिधि खोइ ?, सब कन्ट्रयाक्टरहरुको भुक्तानी खोई, हाम्रो बाटो कहिले बन्छ ? तिम्रो करणले ट्याक्स जरिवानाको जिम्मेवार को ? लगायतका प्ले कार्ड बोकेका थिए ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष रामु अधिकारीका अनुसार ढुंगा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ७५ करोड, पेटी ठेकेदारको २० करोड र ढुवानीका लागि प्रयोग भएका एक्साभेटर सहितका सवारी साधनको ५ करोड गरेर १ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको छ । यसमा बिटुमिन र छडवालाले पाउनु पर्ने रकम नजोडिएको उपाध्यक्ष अधिकारीले बताए ।

व्यवसायीहरुले १५ दिन भित्र रकम भुक्तान गर्न चिनीयाँ ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन् । ‘हामीले १५ दिन भित्र हाम्रो भुक्तानी दिन चेतावनी दिएका छौं, त्यो अवधिमा पनि भुक्तानी नदिए हामीले तिहारपछि नेपाल सरकार र एडीबीलाई समेत जानकारी दिएर ठेकेदार कम्पनीको पूर्वी र पश्चिम खण्डमा तालावन्दी गछौं, यसबाट हुने क्षति स्वयं कम्पनीले व्यहोर्नु पर्नेछ’ उपाध्यक्ष अधिकारीले भने ।

उनले गत चैत महिनादेखि ठेकेदार कम्पनीले प्रयोग गरेका सामानको भुक्तानी नदिएको बताए । जेठपछि भने आफूहरुले सामग्री नै नदिएको अधिकारीको भनाइ छ । सेक्टर टु अर्थात पश्चिम खण्डमा ५ र सेक्टर वान अर्थात पूर्वी खण्डमा ८ वटा क्रसर उद्योगले बाटोका सामग्री उपलब्ध गराउँदै आएका छन् ।

३० दिन भित्र सामग्री उपलब्ध गराउने र त्यसको १५ दिन भित्र बिल बिजक जारी गरेर भुक्तानी गर्ने गरी सम्झौता भए पनि चिनीयाँ ठेकेदार कम्पनीले सम्झौता उलंघन गरेको व्यवसायीको आरोप छ । गत वर्षहरुमा बेला दशै तिहारका बेला रकम भुक्तान गर्ने गरेपनि यो पटक एक रुपैयाँ पनि नदिएको व्यवसायीहरुले बताएका छन् ।

उद्योगी व्यवसायीले गत शुक्रबार नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई पनि भेटेर रकम भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका थिए । व्यवसायीका कुरा सुनेपछि प्रजिअ पोख्रेलले यस बारेमा सडक आयोजनालाई जानकारी गराउन र त्यहाँबाट पहल गर्दा पनि नभए कानुनी उपचार खोज्न सुझाव दिए ।

उद्योगी व्यवसायीले पाँच महिना अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई पनि भेटेर रकम भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका थिए । व्यवसायीको आग्रहपछि प्रजिअ श्रेष्ठले चिनीयाँ ठेकेदारलाई कार्यालयमै बोलाएर व्यवसायीले सामान ढुवानी नगरेमा बाटो विस्तारमा अवरोध हुन सक्ने भन्दै तत्काल व्यवसायीको रकम भुक्तान गर्न आग्रह गरेकी थिइन् ।

नारायणघाट–बुटबल सडक आयोजनाले भने आफूहरुको तर्फबाट रकम भुक्तानीमा समस्या नभएको बताएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बाटोको भौतिक प्रगती भएअनुसार सरकारले रकम भुक्तान गरिसकेको बताइन् । सडक विस्तार गर्दा चाहिने सामग्री चिनीयाँ ठेकेदार कम्पनीले स्थानीय व्यवसायीमार्फत खरिद गरी भुक्तान गर्ने र सडक आयोजनाले बाटोको भौतिक प्रगती हेरेर चिनीयाँ ठेकेदारलाई भुक्तान गर्ने गर्छ ।

हालसम्म पूर्वी र पश्चिम दुबै खण्ड गरेर ५३ प्रतिशत भौतिक प्रगती भएको आयोजना प्रमुखहरुले जनाएका छन् । १ सय १३ किलोमिटर लामो सडक विस्तारको लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमध्ये आधा रकम ठेकेदार कम्पनीले बुझिसकेको छ ।

व्यवसायीलाई भुक्तानी रकम नदिएको ठेकेदारले वर्षाको कारण देखाउँदै रोकिएको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम भने अझै सुरु गरेका छैन । साउन १० गते एक वर्षका लागि तेस्रो पटक थपिएको म्याद तीन महिना सकिँदा पनि अझै काम सुरु नगर्दा दशै तिहारका बेला पनि यात्रुहरुले कष्टका साथ यो सडक खण्डको यात्रा गर्ने गरेका छन् ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *