हात्ती डुबाउने शनिश्चरे ताललाई पर्यापर्यटनसँग जोडेर पुरानो स्वरुपमा फर्काइदैँ

सन्जय भट्टराई, कावासोती । वि.स २०५० अघि हात्ती डुबाउने ताल भनेर चिनिने शनिश्चरे तालमा त्यही साल नारायणी नदि र बौलाहा खोलको बाढी पसेसँगै बिस्तारै तालको आकार र स्वरुप फेरिदै गयो । ७० को दशकमा आईपुग्दा सम्म निकुञ्जको पश्चिम सेक्टर तर्फको मध्यवर्ती क्षेत्रमा रहेको यो ठुलो ताल सरुवा र काँसले भरिदै सामान्य सिमसारको रुप लिए पछि त्यस क्षेत्रका वन्यजन्तुलाई समेत पानी पिउन र आहालको लागी समेत सम्स्या बन्दै गयो । बाढी र त्यस पछिका वर्षहरुमा सरुवा र काँस फैलिदै गइ तालको अस्तित्वनै संकटमा परे पछि स्थानियको सक्रियतामा यो ताललाई पुरानै स्वरुपमा मात्रै नभएर जैविक पर्यापर्यटनसँग जोडने गरेर संरक्षणको काम सुरु गरिएको छ ।

२०५० सालको बाढीले पुरिएको शनिश्चरे ताल क्षेत्र
२०५० सालको बाढीले पुरिएको शनिश्चरे ताल क्षेत्र:

नवलपुरको देवचुली नगरपालिका मा रहेको सिसवार मध्यवर्ती क्षेत्र अन्र्तगतको दिव्य सामुदायिक वनमा रहेको ताललाई अहिले गण्डकी प्रदेश सरकारको सहयोगमा तालको संरक्षणको काम अगाडी बढाईएको सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । ६ वर्ष अगाडी देखि प्रदेश सरकारको सहयोगमा तालको संरक्षण अगाडी बढाईएको पाण्डेले बताए । पाण्डेका अनुसार गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा डिपिआर सम्पन्न गरेर सोही डिपिआर अनुसार ताल बिस्तारको कामलाई अगाडी बढाईएको हो ।

६ वर्ष अघि देखि तालको संरक्षण सुरु गरिएको र अहिले ताल सात बिगाहा क्षेत्रफलमा फैलिएको छ । बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार तालको संरक्षणको काम सम्पन्न हुदाँ ३१ बिगाहा क्षेत्रफलमा फैलिने अध्यक्ष पाण्डेले बताछन । साँझपख सुर्यास्तको मनोरम दृष्यमात्रै नभएर एक सिंगै गैँडाको जलक्रिडा सहित साइवेरियन चरा, मयूर, सारस लगाएतका चराहरुको मनमोहक दृष्यले यो तालको महत्वलाई झनै बढाएको हो । यो ताललाई वन्यजन्तुका लागि पानी स्रोत जुटाउन मात्रै नभई जैविक विविधताको संरक्षण गरेर पर्यापर्यटनको गन्तव्य बनाउने गरी संरक्षणको काम अगाडी बढाईएको पाण्डेले बताए । बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार दुइटा आवासीय मचान, तालको बीचमा मन्दिर, संग्रहालय र पार्क बनाईने छ । गण्डकी प्रदेश सरकारको पर्यटनको गन्तव्यमा समेत सूचीकृत ताललाई संरक्षण गरेर पर्यापर्यटन सँग जोडनका लागी हाल सम्म प्रदेश सरकारको सहयोगमा ७० लाख रुपिया खर्च भैसकेको र चालु वर्ष समेत ४० लाख बजेट विनियोजन भएको पाण्डेले बताए ।

पुनः निमार्ण पछि बन्ने तालको स्वरुप
पुनः निमार्ण पछि बन्ने तालको स्वरुप:

संरक्षणसँगै ताललाई स्थानियको आयआर्जनको रुपमा समेत अगाडी बढाउदै गएको दिव्य सामुदायिक वनका अध्यक्ष सुवास ओझाले बताए । संरक्षणको क्रममा बाढीले पुरिएर रहेका स–साना ५ वटा पोखरीलाई एउटै बनए पछि अहिले सामुदायिक वनले वयवस्थापन गर्ने गरि माछा पालन समेत सुरु गरिएको अध्यक्ष ओझाले बताए उनका अनुसार अहिले तालमा ३५ हजार माछाका भुरा छाडिएको छ । तालको पुनः निमार्णले वन्यजन्तुको संरक्षणसँगै पर्यापर्यटको बाटो समेत खुलेको अध्यक्ष ओझा बताउछन । “यो तालको पुनः निमार्णले स्थानियलाई पर्यापर्यटन र संरक्षणसँग जोडेर मानव वन्यजन्तु द्वन्दलाई न्युनिकरणका लागी ठुलो सहयोग पु¥याउछ,” अध्यक्ष ओझाले भने ।

ताल रहेको दिव्य सामुदायिक वनमा विगत ५ वर्ष अगाडीबाट जीप सफारी समेत सन्चालन हुदैँ आएको छ । तालको पुनः निमार्णले यस क्षेत्रमा पर्यापर्यटनको गतिबिधि बढने मात्रै नभएर स्थानियको आयआर्जनमा समेत सहयोग गर्ने संरक्षणकर्मी डिआर क्षेत्री बताउछन । तालको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर)ले समेत देवचुली डाँडाबाट प्याराग्लाइडिङ्ग गरेर तालको पूर्वी भागमा रहेको ठुलो चौरमा ल्याडिङ्ग गर्न सकिने सम्भावना देखाएकाले पर्यापर्यटनको लागी तालको पुनःनिर्माणले ठुलो महत्व राख्ने क्षेत्री बताउछन । तलको पुनः निमार्ण सुरु भएसँगै यस क्षेत्रका स्थानिय निकै उत्साही बनेका क्षेत्रीले बताए ।

प्रदेश सरकारकाले क्रमागत योजनाको रुपमा अगाडी बढाएको यो तलको पुनः निमार्णका लागी ५ करोड लाग्ने प्रदेश सरकारले स्वीकृत गरेको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर)मा उल्लेख छ । पूर्व पश्चिम राजमार्गको केउरेनी चोक देखि करिब २ किलोमिटर दक्षिणमा रहेको यो तालको संरक्षण सँगै पुनः निमार्ण सुरु भएसँगै संरक्षणकर्मी, स्थानिय र पर्यटन व्यवसायीहरुले निकै चासो दिएका छन । डिपीआर अनुसार काम सम्पन्न हुदाँ नेपालकै उत्कृष्ठ पर्यापर्यटनको गन्तव्य बन्ने कुरामा दुईमत नै छैन ।