पञ्चाङ्ग निर्णायक समितिको पात्रो : चाडपर्वमा सधैँ अन्योल
सन्दर्भ १
नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा आधिकारिकता पाई प्रकाशन भएका २०७७ सालको पात्रो(हरू) मा मंसिर १ गते प्रतिपदा ६ घडी ५३ पला उल्लेख छ। सोमवार परेको त्यो दिन ९ बजेर १२ घडीपछि द्वितीया लाग्ने बताइएको छ।
त्यही दिन बिहान गोवर्धनपूजा गर्न र त्यसपछि भाइटीका लगाउन समितिले निर्देशन दिएको थियो। अधिकांशले समितिको निर्देश पालना गरे पनि नेवार संस्कृतिका कतिपयले मङ्गलबार भाइटीका मनाए ।
२ गते द्वितीया १ घडी ४१ पला थियो। नेवार समुदायका अगुवाको तर्क थियो, ‘जुन तिथिमा सूर्योदय भएको छ, त्यो तिथिको कर्म त्यसै दिन गर्ने हो।’ अर्थात् द्वितीयाको सूर्योदय २ गते हुने भएकाले उनीहरूले भाइटीका पनि त्यसै दिन मनाएका हुन्।
सन्दर्भ २
हरिशयनी एकादशी अर्थात् ठूली एकादशी। पात्रोमा कात्तिक १० गते ‘स्मार्तानां हरिबोधिनी एकादशीव्रतम्’ उल्लेख छ भने भोलिपल्ट ११ गते ‘वैष्णवानां हरिबोधिनी एकादशीव्रतम्’ भनिएको छ। अघिल्लो दिन एकादशी ५९ घडी २५ पला छ भने भोलिपल्ट ६० घडी नै द्वादशी तिथि छ। सामान्य अर्थमा स्मृति (वेदादि शास्त्र) मान्ने स्मात्र्त। वैष्णव सम्प्रदायका अनुयायी वैष्णव।
पात्रोमा स्मार्तको एकादशीव्रत एकादशीकै दिन उल्लेख भए पनि तुलसीविवाह भने वैष्णवको व्रत बस्ने दिन थियो। आफूलाई स्मार्त भन्नेहरूले त अघिल्लो दिनभर व्रत बसेर भोलिपल्ट तुलसीविवाह गर्नुपर्ने बाध्यता देखियो। हरिशयनी एकादशीको महत्त्व भनेकै व्रत बसेर तुलसीविवाह गरी भोलिपल्ट द्वादशीमा हवन दान आदि गर्ने रूपमा छ। कसैले अघिल्लै दिन तुलसीको मठ सिँगारे भने कसैले भोलिपल्ट।
एउटै धर्म एउटै सम्प्रदाय भएका छिमेकीबीच खिसीट्युरी चलेको देखियो। भोलिपल्ट गर्नेले अघिल्लो दिन गर्नेलाई भने, ‘एकादशी नै नलागी तुलसीको विवाह ?’ एकादशीमै सक्नेले द्वादशी कुरेर बस्नेलाई व्यङ्ग्य गरे, ‘द्वादशीका दिन तुलसीको विवाह गर्ने कुनचाहिँ शास्त्र रै’छ?’
दशमीलाई छोएको एकादशीमा व्रत नलिने द्वादशीलाई एकादशी मान्ने र द्वादशीको कर्म त्रयोदशीमा गर्ने वैष्णवहरूको परम्परा रहेछ। तर वैदिकहरूले भने जुन तिथिको कर्म हो त्यही तिथिमा गर्नुपर्छ भन्ने मान्यता राख्छन्। त्यसो त एकादशीको कर्म वैष्णवहरूको हो भन्ने तर्क पनि गरिन्छ। त्यसो भए पात्रोमा किन स्मार्तानां र वैष्णवानां भनेर भेद गरियो? भेद राखिएपछि किन प्रष्ट खुलाइएन?
सन्दर्भ ३
सरकारी मान्यताप्राप्त पात्रोमा शेर्पा समुदायले मनाउने लोसार (नयाँ वर्ष चैत १ गते ) उल्लेख छ। तर तामाङ समुदायले सोनम ल्होसार मनाउँदै गर्दा माघ ३० गते नै शेर्पाहरूले पनि ग्याल्पो लोसार मनाए। शेर्पा समुदायका अगुवाले सरकारमातहतको संस्थाले आफ्ना चाडपर्वमा खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ।
भाइटीका, ठूलो एकादशी र ल्होसार/लोसारमा निम्तिएको विवाद यो पहिलो होइन। अघिल्ला वर्ष पनि यस्ता समस्या आइरहेकै थिए। समितिकै पात्रोका कारण सनातन धर्मावलम्बीले मनाउने दशैँ, तिहारजस्ता चाडपर्व र जनजातिका विशेष दिनमा यस्तै विवाद निम्तिनु नौलो होइन। बर्सेनि यस्ता विवाद उठिरहे पनि समितिले समाधानका लागि खासै पहल गरेको देखिँदैन।
भन्न त समितिले (पञ्चाङ्गमा) चाडपर्व तथा विशेष दिनको निर्णय गर्ने काममा विभिन्न पक्षका विद्वान् सहभागी हुने गरेको दाबी गर्दै आएको छ, समितिले। आफूले मान्यता दिएका पात्रोमा उसले लेखेको छ, ‘यसवर्षको पात्रोमा लेख्नु पर्ने चाड–पर्व, यात्रा–जात्रा, मेला, उत्सव आदिको निर्णय गर्ने काममा विचार विमर्श गर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र, धर्मशास्त्र र तन्त्रशास्त्रका दोषज्ञ र अन्य विद्वान्हरूलाई समेत आमन्त्रण गरी उहाँहरूसँग पनि परामर्श लिई गरिएको निर्णयको आधारमा पञ्चाङ्ग निर्माता ‘फलानो’लाई ‘यो नामको’ पञ्चाङ्ग प्रकाशित गर्न स्वीकृति प्रदान गरिएको छ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिले पात्रोमा लेख्ने भूमिकामा ज्योतिष–धर्म–तन्त्र आदिका ठूला–ठूला विद्वान्को नाम दिइएको हुन्छ। उनीहरूसँगको छलफल सुझावको आधारमा तिथिमितिको निर्धारण गरेको भनिएको हुन्छ। सम्बन्धित पक्षका विज्ञहरूलाई समावेश गरी तयार पारिएको भनिएको पात्रोमा किन हुन्छ त यतिविघ्न त्रुटि? यसको ठेट जवाफ समितिका पदाधिकारी दिन सक्दैनन्। बरु आफूले मान्यता दिएको पात्रो मात्रै शुद्ध र प्रामाणिक हुने दाबी गर्छन्।
वि.सं.२०७८ मा पनि समितिले एक दर्जनभन्दा बढी पञ्चाङ्गलाई मान्यता दिएको छ। पञ्चाङ्गलाई स्वीकृति दिँदै गर्दा समितिले भन्ने गरेको छ, ‘पञ्चाङ्गमा लेखिएका तिथ्यादिका घडीपलाका आधारमा धर्मशास्त्रअनुरूप चाड पर्वादि सनातन धार्मिक कर्मको निर्णय गरिन्छ।
निर्णित कर्म सम्पादनले मनुष्य जीवनलाई सदा संस्कृतिप्रति श्रद्धा, आस्था निष्ठा र विश्वास पैदा गर्दछ। वर्ण–जाति र जनजातिहरूमा राष्ट्र, राष्ट्रियता, मेलमिलाप र एकताको उदात्त भाव उत्पन्न गराउँछ।’
समितिले यसो भनिरहँदा जातजातिको चाडपर्व नै यताउति पारिदिएपछि संस्कृतिप्रति श्रद्धा, आस्था निष्ठा र विश्वास पैदा कसरी होला? राष्ट्र, राष्ट्रियता, मेलमिलाप र एकताको उदात्त भाव कसरी उत्पन्न होला?
‘मकरे सायनाऽर्क’ लेखिएको पुस ६\७ वा ‘कर्कटे सायनाऽर्क’ भएको असार ६\७ वास्तविक उत्तरायण र दक्षिणायन हुने दिन हो। यसैअनुरूप वर्षकै लामो र छोटो दिन तय हुन्छ। वेदाङ्ग ज्योतिष र विज्ञानले पनि मानेको ‘निर्विवाद’ लामो दिन र छोटो दिनको जानकारीसमेत कुन्नि के कारणले समितिका पात्रोमा देख्न छाडिएको छ। २०७५ सालमा शुरु गरेर ७६ सालको पात्रोमा उल्लेख गरिए पनि २०७७ मा हटाइएको छ। हालै प्रकाशित २०७८ सालको पात्रोमा पनि लामो\छोटो दिनबारे जानकारी छैन।
वेदाङ्गज्योतिषको अनुसरण गर्दै स्वाद्ध्यायशालाबाट ११ वर्षदेखि वैदिक पात्रो प्रकाशन हुँदै आएको छ। तिथि अहोरात्रात्मक हुने वैदिक कालगणनाको मान्यता छ। अर्थात् सूर्योदय हुँदा लागेको तिथि अर्को सूर्योदय नभएसम्म रहन्छ। तिथिमा वेलावेला हुने अन्योल वैदिक कालगणनाको अवलम्बनबाट मात्र समाधान हुने देखिन्छ।
तर आफूले सिफारिस गरेका पात्रोमा बाहेक विश्वास नगर्न आग्रह गर्दै आएका समितिका पदाधिकारी न त वैदिक पात्रोमा दोष नै देखाउन सक्छन्, न त यसलाई स्वीकार गर्न सक्छन्।
वैदिक कालगणनाबारे अध्ययन\अनुसन्धान चलाउनु त परै जाओस् वैदिक नववर्ष शुरु हुने दिनलगायत वैदिक कालगणनाका सामान्य जानकारी आफ्नो पात्रोमा दिन आवश्यक ठान्दैन, समिति।
समितिबाट सिफारिस भएको पात्रो सूर्यसिद्धान्तका आधारमा गणना गर्ने भनिएको छ। गणनामा त्रुटि हुँदा कतिपय महत्त्वपूर्ण तिथिहरू अघिपछि पछि परेका धेरै उदाहरण छन्। आफ्नो चाडपर्व यताउता परेर सर्वसाधारण अन्योलमा पर्दासमेत समितिले सुधार गर्ने चासो देखाएको छैन।
तिथि (दिन) २४ दिन वर सरेको भन्दै सच्याउनुपर्ने माग राख्दै विभिन्न पक्ष वर्षौँदेखि लागिरहेका छन्। पर्वसुधारको नाममा एक महिना नै लोप गराउनुपर्नेजस्ता तर्क पनि उठिरहेका छन्। यसबारे बहस पनि समितिले चासो देखाएको छैन। अशास्त्रीय भन्दै अन्य पक्षका विचारलाई निषेध गर्न समितिका पदाधिकारी लागिपरेका छन्।
ज्योतिषशास्त्र फलादेश गर्ने र मानिसलाई भाग्यवादी बनाउने मात्र होइन, वेदअनुकुल विद्या हो। यो विज्ञान पनि हो। पात्रो वैदिक शास्त्रअनुकुलको हुनुपर्छ। यसले मानिसको जीवनलाई सही मार्गनिर्देशन गर्न सक्नुपर्छ। त्यसैले पात्रोलाई प्रामाणिक र विश्वसनीय बनाउन नेपाल पञ्चाङ्ग निर्णायक समिति गम्भीर बन्नुपर्छ। समिति खारेज भई नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति बन्न लागेको सन्दर्भमा पात्रोलाई कसरी निर्विवाद बनाउने भन्नेमा सचेत रहनुपर्छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । वि.स २०५० अघि हात्ती डुबाउने
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय