काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरको सबैभन्दा रमणीय स्थानमध्येमा पर्ने वैसरण उपत्यकामा मंगलबार मध्याह्न बुटवलका २७ वर्षीय सुदीप न्यौपाने परिवारसहित रमाइलो क्षण बिताइरहेका थिए ।

भारत यात्राका अधिकांश पल सामाजिक सञ्जालमा समेत शेयर गरिरहेका थिए । सोमबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै श्रीनगरको सैनिक नियन्त्रित विमानस्थलमा अवतरण गरेपछि उनले त्यहाँका तस्वीर र छोटो भिडियोहरु पनि शेयर गरेका थिए ।

त्यो हवाई यात्राको एउटा क्लीप राख्दै उनले क्याप्सन लेखेका थिए, ‘इन्टु द क्लाउड । (बादलभित्र)’

साँझ श्रीनगरमा बसेर मंगलबार कश्मिरको मिनी स्वीजल्याण्ड समेत भनिने वैसरण उपत्यका पुगेका थिए, जहाँ आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग फोटो खिच्दै उनीहरू रमाइलो क्षण बिताइरहेका थिए । तर, मध्याह्न भारतीय समय अनुसार साढे २ बजेतिर एक्कासी हरियाली जंगलबीचको त्यो पर्यटकीय फाँट रक्तपातपूर्ण बन्यो ।

हतियारसहित देखिएका चार आतंककारीले पर्यटकहरूप्रति अन्धाधुन्ध गोली बर्साउन थाले, त्यसक्रममा न्यौपाने पनि मारिए । आमा रिना भागेर सुरक्षित स्थानतर्फ जाने क्रममा घाइते भइन्, सुष्मा र उज्ज्वलले पनि भागेर ज्यान जोगाए ।

अनलाइनखबरबाट……..