
नवलपुरः ११ औँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नवलपरासी पूर्व (नवलपुर) आएका छन ।
सरकारले विसं २०७१ असार २ गते राष्ट्रपति चुरे तराई – मधेस संरक्षण विकास समिति नै गठन गरेर चुरे संरक्षण योजनालाई अगाडि बढाएपछि प्रत्येक वर्ष असार २ गतेका दिन चुरे संरक्षण दिवस मनाइँदै आइएको छ ।
यसै दिवसको अवसरमा राष्ट्रपति पौडेलले नवलपुरको कावासोती –३ मा रहेको ज्योति कुञ्ज सामुदायिक बनमा वृक्षरोपण गरेर दिवसको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति चुरे तराई – मधेस संरक्षण विकास समितिका उपसचिव टेक प्रसाद पुलामीले जानकारी दिए ।

सोमबार बिहान ८ः ३० बजे राष्ट्रपति पौडेलबाट कार्यक्रम उद्घाटन हुने कार्य तालिका छ ।
राष्ट्रपति चुरे तराई – मधेस संरक्षण विकास समितिको आयोजना , बन तथा पर्यावरण गण हात्तिखोर कावासोतीको समन्वयमा कार्यक्रम हुँदैछ ।
बन तथा पर्यावरण गण हात्तिखोरका सेनाहरू कार्यक्रम स्थलको तयारीमा समेत जुटेका छन् । वृक्षरोपण स्थल र मञ्च व्यवस्थापनको काममा सेना खटिएको छ ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा कूल भू–भागको १२।७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध छ । चुरे क्षेत्र भौगर्भिक रूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुहरूको वासस्थान र जैविक मार्ग हो ।
बलौटे ढुङ्गा एवं माटो ढुङ्गाबाट बनेका कारण चुरे भू–भाग निकै कमजोर छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र संवेदनशील बन्दै गएको छ । त्यसैले चुरे क्षेत्रको संरक्षण गर्दै गरिबी न्यूनीकरणमा समेत टेवा र्पुयाउने उद्देश्य राखेर सरकारले २० बर्से गुरुयोजना तयार पारी कार्यान्वयनमा समेत रहेको छ ।