
१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ ।
उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले पुष्टि गरे ।
छोरा मदनरत्नका अनुसार वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा राखिएको थियो ।
छेडागाड नगरपालिका–६, सुवानाउली निवासी न्यौपाने २०५६ सालको प्रतिनिधि सभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वाचित भएका थिए ।
उनी हाल एमालेको कर्णाली प्रदेश समिति सदस्य हुन् । न्यौपाने जिल्लाको इमान्दार नेता र एमालेका कुशल संगठकको रुपमा परिचित थिए ।
२०४६ सालको जनआन्दोलनपछि न्यौपाने शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा लागेका थिए ।