जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो ।
एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ । एकजनाको भने मृत्यु भएको जनाइएको छ । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।
जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।
गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।
फ्लु सिजनमा समेत अमेरिकामा यस्ता केही केसहरु देखिने गरेका छन् । फ्लु भ्याक्सिन लगाउँदासमेत १० लाखमा एकदेखि दुईसम्म यस्ता केसहरु देखिने गरेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ ।