शिव महादेव मन्दिरको पुजारीमा कक्षा तीनका बालक

सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ ।

हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) हुनुहुन्छ । सुवास गतवर्ष मङ्सिरदेखि पुजारी नियुक्त हुनुभएको हो । त्यसअघि उहाँका साहिला दाजु जीवनदेव पुजारी हुनुहुन्थ्यो । जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश गर्नुभएको हो ।

सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शिवाद दिँदै आएको बताउनुभयो । “पूजापाठका सबै काम सिक्दैछु, बुवा दाईले सिकाउनुहुन्छ”, उहाँले भन्नुभयो । शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ ।

देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्छन् । पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षौँदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताउनुभयो । “आफँैले पकाएको खानुपर्छ, अरु जस्तो मन लागि हिँडडुल गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “स्कूलमा गएर पनि अलग्गै बस्नुपर्छ, महिनावारी भएकालाई छुन हुँदैन ।

” सुवास हाल महादेव मावि कक्षा तीनमा अध्ययनरत हुनुहुन्छ । सुवास सानै भएकाले पूजापाठमा जीवनदेवले सघाउने गर्नुभएको छ । उहाँ २०६८ जेठदेखि गत वर्ष मङ्सिरसम्म ‘देउकेटा’ का रुपमा मन्दिरमा बस्नुभएको थियो । मन्दिर दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वर बजार छेवैमा छ । जुन कर्णाली नदी र लोहोरे खोलाको सङ्गमस्थल हो ।

यहाँ दैलेख, अछाम, सुर्खेतका साथै राजमार्ग हुँदै आउजाउ गर्ने मन्दिर प्रवेश गरेर ‘देउकेटा’ बाट टीका थाप्नुका साथै आर्शिवाद लिई गन्तव्यतर्फ लाग्दछन् । मङ्गलबार र शनिबार श्रद्धालु भक्तजनको बढी भीड लाग्दछ । खड्गदेवका छोरा पे्रमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिनु भएको हो । खड्गेव पनि ११ वर्ष देउकेटा हुनुहुन्थ्यो । पूजापाठबाट सङ्कलित दान दक्षिनाबाटै परिवारको खर्च धानेको बताउँदै खड्गदेवले भन्नुभयो, “पूजापाठबाटै सात जनाको परिवार पाल्नुपर्ने बाध्यता छ, जग्गा जमीन छैन, गुठीको आम्दानीबाटै गुजारा चलाउनुपर्छ ।

” उहाँका अनुसार ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ । त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ । यदि पुजारीमा कुनै समस्या आइपरेमा सन्तानको रोल क्रमअनुसार नियुक्त गर्ने चलन छ । त्यसरी नियुक्त ‘देउकेटा’ लाई विधिपूर्वक व्रतबन्ध गरी भ्यियाइन्छ । विवाहितालाई ‘देउकेटा’ बनाए अनिष्ट हुने विश्वास छ ।

प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने भने यही यो मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन ।