सिंहदरबारमा ट्‌वाइलेट सफा राख भन्न पनि प्रधानमन्त्रीकै निर्देशन चाहिने हो ?

दाजुबहिनी मन्त्रीलाई भेट्न सिंहदरबार गएका थिए । मन्त्रीसँग भेट्ने प्रतीक्षामा रहेकै बेला किशोरी महिनावारी भइन् । नजिकै रहेको ट्वाइलेट गइन् । उनीसँग स्यानिटरी प्याड थिएन । मन्त्रालयको ट्वाइलेटमा खोजिन् तर पाइनन् । बाहिर आएर दाइलाई भनिन् । प्याडको खोजीमा दाइ सिंहदरबारबाट बाहिरिए ।

मन्त्रीकहाँ भेट्ने पालो आयो । मन्त्रीको पीएले बाहिर आएर भित्र मन्त्रीज्यूले बोलाउनुभएको छ भन्छन् तर उनी जान सक्दिनन् । माइतीघर चोकमा रहेको अन्नपूर्ण न्युरो अस्पतालको फार्मेसीबाट प्याड किनेर दाइले ल्याइदिएपछि उनले बल्ल सास फेर्न पाइन् । बोलाएको बेला भित्र जान नसकेको र पछि मन्त्री व्यस्त भएका कारण त्यो दिन उनको मन्त्रीसँग भेट भएन । मन्त्री भेट्‌न नपाएको भन्दा पनि स्यानिटरी प्याड चेञ्ज गर्न ट्वाइलेट जाँदा पाएको सकसले उनलाई मन दु:ख्यो । र, भनिन, ‘यो सिंहदरबार कहिल्यै आउन नपरोस् ।’

कार्यकक्षमा आएका साथीभाइसँग कुराकानी गरिरहेका बेला शिक्षा मन्त्रालयका एक उपसचिव जुरुक्क उठे । टेबुलमा भएको टिस्यु पेपर हातमा लिए र ‘एकछिन है’ भन्दै बाहिर निस्के । सजिलै बुझिन्थ्यो– उनी ट्वाइलेट गएका हुन् ।

एकछिनसम्म कुरा गर्दै मन्त्रालयको सिँढी चढेका व्यक्ति ट्वाइलेटबाट निस्कनासाथ कसैसँग नबोली सिधै पार्किङतिर हानिए । कारण थियो– ट्वाइलेट, जुन उनले प्रयोग गर्न सकेनन् । गाडी लिएर बबरमहलको एक होटलमा गएर उनी फर्किए । बल्ल कारण थाहा भयो, उनी एक्कासि हिँड्‌नुको । दिसा लागेर छिरेका उनी झण्डै वान्ता गरेनछन् । साथीभाइसँग बोल्दा पनि वाक्छु कि भनेर उनी छिटोछिटो गाडी भएतिर गएका रहेछन् ।

यी तीनवटा घटना सिंहदरबारको हविगत देखाउने प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता सयौँ घटनाहरू छन् । देशको बागडोर सम्हालेको सिंहदरबारमा ट्वाइलेटका कारण मानिसहरू पीडाको आँसु पिइरहेका छन् । हेर्दा, सुन्दा सामान्य लाग्छ तर त्यो भोग्नेलाई मात्र थाहा छ– कति पीडादायक छ भन्ने । देशका सबैभन्दा ठूलाठूला मान्छे भेटिने, उनीहरूलाई आफ्ना पीडा, दु:ख, सुख शेयर गर्न भौँतारिएका र अभिभावक खोजेकाहरू नै ट्वाइलेटकै कारण विरक्तिएर सिंहदरबारबाट बाहिरिन्छन् ।

यस्ता अनेक घटना र प्रसंग सुने देखेपछि एक पटक सबै ट्वाइलेट हेर्ने जमर्को गरियो । सामान्य चेक लिस्ट तयार भयो । ट्वाइलेटमा हुनुपर्ने अत्यावश्यक चीजहरूको लिस्ट तयार गरियो । त्यही लिस्टअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित २२ वटा मन्त्रालयका पुरुष र महिला ट्वाइलेटहरूको अवस्था हेरियो । यसका लागि दुई जना महिला साथीहरूले मलाई सहयोग गर्नुभएको छ । महिला ट्वाइलेटको अवस्था उहाँहरूले ल्याएको चेक लिस्टका आधारमा विश्लेषण गरिएको हो ।

अब लागौँ अवस्थातिर । आफ्नो घरको ट्वाइलेटलाई बिर्सिएर एक पटक गुगलमा सर्च गर्नुहोस्, ट्वाइलेटमा के के हुनुपर्छ भनेर । सामान्य कुरा । पानी, साबुन र ट्वाइलेट पेपर । ल यी तीन कुरालाई ध्यानमा राखेर ‘घगडान’ मन्त्रालयका ट्वाइलेट घुम्नुहोस्, आफ्नै नाङ्गो आँखाले सरकार देख्नुहुन्छ । भोग्नेहरूलाई त केही भन्नु छैन । नभोगेकाहरूले पनि एक पटक सिंहदरबार अनुभव लिनुहोस् । अति सामान्य तीन कुरा । साबुन, पानी र ट्वाइलेट पेपर । ट्वाइलेट पेपर त कतै छँदै छैन । सायद मन्त्रालयहरूले किन्दैनन् पनि होला । साबुनको हविगत देख्दा त्यो कसैले छुँदैन ।

मन्त्रालयका ट्वाइलेट जाँदा अहिले पनि गुनगुनाउने, ढोकामा अर्को कुरेर बस्नुपर्ने अवस्था छ भन्दा तपाईंलाई अचम्म लाग्ला । तर, ‘म यहाँ छु’ भन्ने संकेत दिन नआएको खोकी पनि निकाल्नैपर्छ, ताकि अर्को कोही नआओस् ।

अघिकांश ट्वाइलेटमा स्प्रे छैन । भएकामा पानी आउँदैन । कति टुटेफुटेका छन् । कहीँ जग, मग राखिएको छ । कहीँ हरियो बाल्टीमा डुबेको खैरो जग कालो भएको छ । कतै धारामा आउने पानीका कारण सेतो टायल कालो भएको छ । केही समयपछि मात्र यो त टायल हो भन्ने चिनिन्छ । यावत् यावत् । हात धुने बेसिनमा आएको पानीको हालत हेर्दा लाग्छ– त्यो पानी केले पुछ्ने हो अर्थात् पानीमा भएको फोहोरका कारण नै थप रोग पो लाग्ने हो कि भन्ने डर पैदा हुन्छ । कुनैकुनै मन्त्रालयका ट्वाइलेटभित्र र बाहिर हातको चिसो सोस्ने मेसिन राखेको पनि पाइन्छ । तर, फोहोर पानीले धोएको हात तातो मेसिनले सुकाउँदैमा सफा कसरी होला र ?

तपाईं पुरुष हो भने जेनतेन पिसाबसम्म फेर्न सक्नुहुन्छ । तर, नाक खुल्ला त कमैले राख्न सक्नुहुन्छ । लङ ट्वाइलेट अर्थात् दिसा लाग्यो भने तिनै उपसचिवजस्तै बाहिरबाटै टिस्यु पेपर खोजेर जानुपर्छ । सेवाग्राही, आममानिसको पहुँचमा त्यो पनि छैन । सिंहदरबारमा किन्न पाइन्न । ट्वाइलेटमा नभएको चीज कर्मचारीको टेबुलबाट मागेर वा झिकेर कुन सेवाग्राहीले लैजान सक्छ र ?

कुरा आउला– मज्जाले धुने नि । हो, धुने हो । तर, कम्मोडमा कसरी धुनुहुन्छ ? त्यसका लागि स्प्रेमा पानी आउनुपर्छ कि पर्दैन ? त्यो पानी सफा हुनुपर्छ कि पर्दैन ? त्यो चिसोलाई केले पुछ्ने ? कि सुक्ने बेलासम्म गन्हाएको ट्वाइलेटमा गुनगुनाएर बस्ने ? एउटा एयर फ्रेसनर पनि राख्न सक्दैन मन्त्रालयले ? प्राय: चार तलाको मन्त्रालयमा महिला/पुरुष गरी आठवटासम्म ट्वाइलेट छन् । एउटा एयर फेसरको ७५ रूपैयाँ पर्छ र यो एक महिनासम्म टिक्छ । एउटामा दुइटा राख्यो भने १ सय ५० र आठवटामा राख्दा महिनाको १ हजार २ सय हुन्छ । यति पनि खर्च गर्न सक्दैन सरकार ?

अब महिला हुनुहुन्छ भने समस्याको चाङ लाग्छ । सिंहदरबारका मन्त्रालयका ट्वाइलेट जाँदा अहिले पनि गुनगुनाउने, ढोकामा अर्को कुरेर बस्नुपर्ने अवस्था छ भन्दा तपाईंलाई अचम्म लाग्ला ? हो, सबैमा होइन, केही ठाउँमा यस्तो अवस्था विद्यमान छ । ‘म यहाँ छु’ भन्ने संकेत दिन पनि नआएको खोकी निकाल्नैपर्छ, ताकि अर्को कोही नआओस् । महिलाका लागि पुरुषको जस्तो युलिनर छैन । अर्थात् दिसापिसाब जे गरे पनि कम्मोडमा बस्नैपर्छ । त्यो केले सफा गर्ने, जब पुछ्ने पेपर नै छैन भने । फल्स गर्न पानी आउँदैन । हात धुन लिक्विड छैन । गन्ध उस्तै छ । महिनावारी भयो भने प्याड पाइँदैन । तपाईंसँग प्याड नै छ भने फेरेको कहाँ फाल्नुहुन्छ ? ट्वाइलेटमा डस्टबिन हुनुपर्छ कि नाइँ ?

अपाङ्गता भएकाहरूको अवस्था पनि यस्तै दर्दनाक छ । सिंहदरबारमा आएपछि कुन मन्त्रालयमा ह्विलचियर जान्छ, त्यही आधारमा खपेर ट्वाइलेट जानुपर्छ । अर्थात् पर्यटन मन्त्रालयमा अपाङ्गता भएकाे व्यक्ति गयाे भने महिला मन्त्रालय खोज्दै जानुपर्छ ट्वाइलेट जान । बालबालिका लिएर सिंहदरबार जाने सोच्नुभएको छ भनेउस्तै हालत छ । सानो उमेरको बालबालिकालाई उचालेर पिसाब फेर्न लगाउनुपर्छ । कति आमाबाबुले आफ्नो घुडाँमा छोराछोरीको खुट्टा टेक्न लगाएर दिसापिसाब गराएका छन् । त्यत्रो करोडौँ खर्चेर बनाएको भवनको ट्वाइलेटमा सानो उमेरको बालबालिकाले प्रयोग गर्न मिल्ने कम्मोड र युलिनर राख्न सकिँदैन ? बालबालिका सेवाग्राही भएर मात्र आउँदैनन् । आफ्ना आमाबुबाको कार्यालयमा जान मन लाग्दैन र ? पुराना भवनहरू बन्दा त यो सोचिएन सोचिएन, भर्खर बनेर सरेको रक्षा मन्त्रालयको भवन र त्यहाँको ट्वाइलेट हेर्दा लाग्छ– प्रशासकहरू यसै परिवर्तन हुँदैनन् । सरेको तीन महिना भएको छैन त्यो मन्त्रालय । कतै स्प्रे भाँच्चिएको छ, कतै पानी आउँदैन, कतै साबुन छैन । चुनौतीका बाबजुद ट्वाइलेटबाट निस्कन खोज्यो, पुछ्न पेपर छैन ।

के सरकार २५ रुपैयाँदेखि ५० रुपैयाँसम्ममा पाइने ट्वाइलेट पेपर पनि राख्न नसक्ने अवस्थामा पुग्यो र ? यो मूल्य त एउटा किन्दाको हो । सरकारले टेण्डर गरेर किन्दा त यो धेरै सस्तोमा आउँछ । यो केवल नियतको कुरा हो । सामान्य कर्मचारी र सेवाग्राहीलाई प्रशासकले मान्छे नगनेको प्रमाण हो । होइन भने मन्त्री, सचिव र सहसचिवहरूका एटयाच ट्वाइलेटहरूमा कसरी यी सबै कुरा पूर्ण छन् ? अर्थात् त्यहाँ ट्वाइलेट पेपर, हात धुने लिक्विड, एयर फ्रेसर (ओडोनिल र यस्तै अरु), टावेल र चटक्क परेको पूर्ण ट्वाइलेट । यो विभेद हो कि होइन ?

ट्वाइलेट किन प्रयोग गरिन्छ । हल्का हुन र फ्रेस हुन । अर्थात् दिसा र पिसाब फेरेर हल्का हुन ट्वाइलेटको आवश्यकता पर्छ । यी दुवै क्षणका लागि सिंहदरबारका ट्वाइलेटको बसाइ कति कष्टकर छ, त्यो भन्न शब्दहरू नै सायद भेटिन्न होला । मानिस तनावमा आयो, समस्यामा पर्‍यो भने शान्त हुन अर्थात् फ्रेस हुन जाने ठाउँ हो ट्वाइलेट । त्यसैले त ट्वाइलेटलाई रेस्ट रुम पनि भनिन्छ । त्यहाँ ऐना पनि राखिएको हुन्छ । जस्तो रिसाएको, तनावमा आएको मानिस पनि त्यो ऐनाको सहारामा पानीसँग एकछिन खेल्न पायो भने शान्त हुन्छ, अर्थात् फ्रेस हुन्छ । के यो अवस्था हामीले भोग्न पाउँछौँ त सिंहदरबारका ट्वाइलेटहरूमा ? बरु तनावमा नआएको, रिस नउठेको मानिस सिंहदरबारका ट्वाइलेटमा पस्यो भने उल्टै रिसाएर निस्कन्छ । उल्टै तनावमा पर्छ ।

देशमा शासन गर्ने मात्र होइन, शासनको नमुना दिने ठाउँ हो सिंहदरबार । यही सिंहदरबारमा छन्, मन्त्री र सचिवहरू जसले देशको भविष्य निर्माण गर्ने वाचा गरेका छन् । यही सिंहदरबारले धेरै कुरा सिकाइरहेको हुन्छ । यसैको सिको गर्दै अरु कार्यालयहरू सञ्चालन भएका छन । सञ्चार मन्त्रालयले सुरु गरेको डिजिटल बोर्ड अहिले अरु मन्त्रालय हुँदै कार्यालय सम्म पुग्ने क्रममा छ । यो एक उदाहरण हो । तर त्यही मन्त्रालय पनि सरसफाइका बारेमा हेलचेक्र्याइँ किन गर्छ ? बाहिर टल्कने बोर्ड राखेर भित्र नाक थुन्नुपर्ने किन बनाएको हो ? अरु कार्यालयहरूले के सिक्ने ?

देशको मुख्य सचिवको बायोडाटा हेर्दा उहाँ दश पटक त देशको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा जानुभएको रहेछ । अरु सचिव/सहसचिवहरू पनि यस्ता कार्यक्रममा विदेश नगएका होइनन् । ती कार्यक्रमहरू सुरु हुनुभन्दा पहिला ढोका कता छ, रेस्टरुम कता छ भनेर सुनाइन्छ । अर्थात् ट्वाइलेटको कुरा गर्नु लाजको विषय होइन । यो त अत्यावश्यक कुरा हो भन्ने प्रशासकले विदेशमा सुनेर आएका छन् । त्यहाँका सरकारी कार्यालयको अवस्था पनि देखेका छन् । पदका आधारमा ट्वाइलेटको प्रयोग हुन्न भन्ने उनीहरूले देखेका पनि छन् । मानिसको भिड लाग्ने दोहाको ट्रान्जिटमा ट्वाइलेट कस्तो सफा छ र कसरी सफा गर्छन् भन्ने पनि देखेका छन् । तर, किन यहाँ व्यवहारमा लागू हुँदैन ? किनभने ट्वाइलेटको विषय सफाइ कर्मचारीको भरमा छाडिएको छ । त्यो सुन्दर हुँदा आफूले गर्व गर्न पाउने कुरामा शासकलाई विश्वास नै छैन । अर्थात् आफ्नो कामसँग आफैँलाई भर छैन ।

सफाइ कर्मचारीले ट्वाइलेट सफा गरेनन् भन्ने सवाल नै होइन । होला, एक/दुई जना काम चोर होलान् । तर, सफा गर्ने वातावरण नै छैन । अधिकांश ट्वाइलेटमा भाँडा माझ्ने मस्को, कपडा र टालोहरू देखिन्छ । डण्डी भएको ट्वाइलेट सफा गर्ने ब्रस, कोलिन, हार्पिकजस्ता चीजहरू किन प्रयोग हुँदैन ? त्यो पनि ट्वाइलेट पेपरजस्तै हाकिमको तजबिजमा भर पर्छ । होइन भने भन्नुहोस् मन्त्रीलाई मन्त्रालयका कर्मचारी, विभाग, योजना, बजेट यावत् लम्बेतान गफ सुनाएर ‘ब्रिफिङ’ गर्दा सचिव/सहसचिवहरूले यो मन्त्रालयमा यतिवटा ट्वाइलेट छन्, यहाँ यस्तायस्ता सामान छन्, यस्तो समस्या छ भनेर कहिल्यै भनेका छन् ? तपाईंले प्रयोग गरेको ट्वाइलेट के सफा छ भनेर एउटा सामान्य कफी सपमा सोधिन्छ ? अर्थात् ट्वाइलेटमा लेख्ने, टिक लगाउने पेपर प्रिन्ट गरेर टाँसिएको हुन्छ ? यति पनि गर्न सक्दैनन् हाम्रा प्रशासकहरू ? के सरसफाइ पहिलो आवश्यकता होइन ? मन्त्रीहरूले दिने निर्देशनमा पनि यो विषयले प्राथमिकता पाएको छ त ? कतै मन्त्री र सचिवहरूले पनि प्रधानमन्त्रीको निर्देशन त कुरेका छैनन्, सिंहदरबारको ट्वाइलेट सफा राख भन्न ?

मान्छे कति सफा र संस्कारी छ भन्न किचेन र ट्वाइलेट हेरिन्छ । सायद प्रशासकहरूले पनि नाता जोड्दा यो कुरा ख्याल गरेका होलान् । त्यसो भए मन्त्रालयका ट्वाइलेटको अवस्थालाई लिएर प्रशासकलाई मूल्याङ्कन गर्न मिल्छ कि मिल्दैन ?

विश्वभरि रहेका साझा धारणा, मान्यताहरूमध्ये एक हो– मानिसको मूल्याङ्कन गर्न उसको घरको किचेन र ट्वाइलेट हेर्नुहोस् । अर्थात् ऊ कति सफा र संस्कारी छ भन्न यी दुई कुरा हेरिन्छ । सायद प्रशासकहरूले पनि नाता जोड्दा यो कुरा ख्याल गरेका होलान् । त्यसो भए मन्त्रालयका ट्वाइलेटको अवस्थालाई लिएर प्रशासकलाई मूल्याङ्कन गर्न मिल्छ कि मिल्दैन ?

खानेपानी र महिला मन्त्रालयमा स्यानिटरी प्याडको भेनिटङ मेसिन राखिएको छ । मन्त्रालयका अलावा संसदको भवनमा दुई, ससद् भवन नयाँ बानेश्वर दुई र महिला आयोगमा गरी आठवटा मेसिन राखिएको छ । त्यसबाट प्याड लिन सकिन्छ । योजना आयोगले पनि यस्तो मेसिन राखेको छ । बाँकी अरु मन्त्रालयमा प्याड पाइँदैन । प्याडका लागि मेसिन राख्न महँगो पर्‍यो भने प्याकेट राखेर दिनकै थप्न पनि सकिन्छ । मुख्य कुरा चेतना र जिम्मेवारीको हो । यस्तै, साना टुलहरू राखेर बालबालिकाले कम्मोड प्रयोग गर्ने बनाउन पनि सकिन्छ ।

भवन बनाउँदा नै ट्वाइलेटलाई मारिएको छ । अर्थात् ट्वाइलेट महत्त्वपूर्ण चीज होइन भन्ने देखाइएको छ । तर, त्यो साधारण कर्मचारी र सेवाग्राहीका लागि मात्र । अर्थात् एकछिनपछि एउटै ढलमा जाने चीज पनि ‘प्रोटोकल’का आधारमा प्रयोग गरिन्छ । मन्त्री, सचिव र सहचिवहरूका लागि पर्सनल ट्वाइलेटहरू निर्माण गरेर अरुलाई बेवास्ता गर्दाको परिणाम हो यो । होइन भने सचिवको कोठामा बैठक हुँदा कुन उपसचिवले सचिवको ट्वाइलेटमा जाने हिम्मत गरेको छ ? बरु लुसुक्क बाहिर निस्केर कमन ट्वाइलेटमा जान्छ । अरु कर्मचारीको हालत कस्तो होला ? एक घरपरिवार भनिएका एउटै छानामुनि दिनभर काम गर्नेहरूमा त यो चरम विभेद छ भने सेवाग्राहीले ‘वाह !’ भन्ने ट्वाइलेट कसरी पाउलान् ?

सिंहदरबारका ट्वाइलेटहरूको यो हालत हेरेको छैन होला खानेपानी मन्त्रालयले । खानेपानी र सरसफाइको मुख्य जिम्मेवारी पाएको मन्त्रालय हो यो । के सिंहदरबारको फोहोरलाई गणना नगरीकनै पूर्ण सरसफाइयुक्त नेपाल बनाउने हो ? नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने बजेट त पक्कै यो मन्त्रालयमा छ । तिम्रो काम यही रूपमा सम्भव छैन भनी मन्त्रालयका ट्वाइलेटले खिल्ली उडाएको कहिले देख्ने होला ?

विश्वका वर्स ट्वाइलेटहरू भनेर गुगलमा सर्च गर्दा सिंहदरबारको फोटो नआओस् भन्ने एक सचेत नेपालीलाई हुन्छ नै । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिभिजनका हाकिमलाई ‘तपाईंको कोठाको ट्वाइलेट अरुले र कमन ट्वाइलेट तपाईंले प्रयोग गर्नुस्’ भनेर निर्देशन दिएपछि टेलिभिजनमा ट्वाइलेटमा परिवर्तन आएको छ । पूर्ण नभए पनि धेरै राम्रो भएको सुनिन्छ । त्यसैले परिवर्तन जरुरी छ र सम्भव पनि छ । यसको गतिलो उदाहरण राष्ट्रिय योजना आयोग हो ।

आयोगका सदस्य र सहसचिवहरूले अरु कर्मचारी र सेवाग्राहीले नै प्रयोग गर्ने ट्वाइलेट प्रयोग गर्छन् । अर्थात् उनीहरूका लागि पर्सनल ट्वाइलेट छैन । उत्कृष्ट नभए पनि सिंहदरबारका अरु ट्वाइलेटभन्दा योजना आयोगका ट्वाइलेट धेरै सफा छन् । त्यसैले ‘वाह सिंहदरबार !’ बनाउन मन्त्रालयका मन्त्री, सचिव र सहसचिवले प्रयोग गर्ने पर्सनल १ सय ८१ वटा ट्वाइलेटमा कम्तीमा तीन महिना ताला लगाऔँ र कमन ट्वाइलेट प्रयोग गर्ने वातारण बनाऔँ, परिवर्तन सम्भव छ । सफा र सुन्दर सिंहदरबार बन्छ ।