कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।

आगामी भदौ १६—१९ सम्म तोकिएको महाधिवेशन नहुने सम्भावना बढ्दै गएपछि अहिले कांग्रेस नेताहरु छलफलमा जुटेका हुन् । केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको विभिन्न प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । अहिलेसम्म दुई दर्जन बढी नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धि कुनै प्रस्ताव पेश भएको छैन् । तर पार्टीको वैधानिकतालाई मध्यनजर गर्दै कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यस्तै हिजोको बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नो नौ बुँदे सुझाव राख्नुभएको छ । उहाँले सरकार गठन भएको एक महिना वित्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा देउवाको आलोचना गर्नुभयो । प्रधानमन्त्रीले सरकार सञ्चालनमा सतप्रतिशत ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भइरहेको भन्दै यसरी सरकार प्रभावकारी हुन नसक्ने बताउनुभयो । डा. कोइरालाले एक महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन हुँदा कसरी सरकारले जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ भनेर प्रश्न गर्नुभयो ।

संस्थापन पक्षले भने मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको दोष अन्य दलहरुका कारण सरकारले पूर्णता पाउन नसकेको बताएको छ । विशेष गरी नेकपा एमालेको माधव नेपाल पक्षलाई पर्खिनुपरेका कारण ढिलाइ भएको भनाई छ । यस्तै, पार्टी विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेलगायतले राजीनामा दिएका हुन् ।