२० युनिट खपत गर्नेलाई निःशुल्क विद्युत् दिने निर्णय ४५ दिनभित्र कार्यान्वयन हुन्छ– मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय डेढ महिना(४५ दिन) भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गरेको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याइ छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरूले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको भन्दै विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने बताउनुभयो ।

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गर्नु भयो । उहाँले गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेकाले नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको बताउनुभयो ।