यो अनशन, त्यो विद्रोहः गाेर्खे नाम त्यसै रहेकाे कहाँ हाे र ?

बेलायती सेनामा काम गर्ने गोर्खाली सैनिकहरूले समान कामका लागि पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । पछिल्लो पटकको आमरण अनशन बेलायती सरकारले वार्ता टोली गठन गरेपछि स्थगित भएको छ । यो आन्दोलन समान कामको लागि समान ज्यालाको माग गर्दै भइरहेको छ । नेपाली युवाहरूले बेलायती सेवामा काम गरेको प्रथम विश्वयुद्धदेखि नै हो । यसको इतिहास नै करीब १०७ वर्षको भइसक्यो ।

पहिलो र दोस्रो विश्वयुद्धमा असल काम गरेबापत भिक्टोरिया क्रस नै प्राप्त गरेका थिए गोर्खालीहरूले । दोस्रो विश्वयुद्ध सकिएकै ७५ वर्ष पूरा भैसकेको छ । युद्ध कसरी लडिएको थियो भन्नेमा धेरै गोर्खालीले लेख्न सकेनन् । उनीहरू घर फर्केपछि भने सन्तानलाई केही कुरा सुनाए । यो लेख त्यस्तै सुनाइको अभिलेख हो ।

२०२१ जुलाई १५ तारेख । हामीले अर्कै विषयमा कुरा गर्न शुरु गरेका थियौं । जिरी माध्यमिक विद्यालय जिरीका पूर्व प्रधानाध्यापक टेकबहादुर जिरेल र मैले । कुराकानीकै क्रममा जिरेल सरको पिताजीको कुरा जोडियो ।

तत्कालीन इष्ट इण्डिया कम्पनीका लागि भारतीय फौजमा जोडिएका र भारत स्वतन्त्र भएपछि १९४७ मा बेलायत गएका थिए भक्तबहादुर जिरेल । बेलायतको तर्फबाट इटली र म्यानम्यारमा भएका युद्धमा संलग्न व्यक्ति ।

अहिलेका सन्तानहरूलाई आफ्नो बाबुको संघर्ष केही पनि थाहा हुन्न । कुरा नै हुँदैन । सूचनाप्रविधिले सबै खाइदियो । उनले चिन्ता जनाए । तर उनलाई बाबुको सबै कुरा याद रहेछ ।

२११४२१८७ कर्पोरल भक्तबहादुर जिरेल । सेकेण्ड क्याम्प वोन गोर्खा राइफल बी कम्पनी व्रिगेड अफ गोर्खा । एकै सासमा यो विवरण सुनाएपछि उनले भने यत्तिमा मेरो बुबाको सबै विवरण छ।

बेलायती सेनाबाट विभिन्न युद्धमा संलग्न व्यक्ति । उनकै कारण बेलायती दूतावासमा आउजाउ हुन्थ्यो टेक सरको । पिताजी पनि जानुहुन्थ्यो दूतावास । पिताजीलाई छोरोलाई आफूजस्तै बेलायती लाहुरे बनाउने सपना पूरा गर्नु थियो । यसकै लागि चार महीना शारीरिक व्यायामका लागि दूतावास नै राख्नुभयो ।

बेलायतले समान कामका लागि समान ज्याला नीतिगत पैरवीमा नेपाल जस्ता देशमा चेतनाका नाममा धेरै रकम खर्च गर्ने गर्छ । उसकै सरकारी नियममा भने समान काम गरेको ज्यालामा आकाश-जमीनको अन्तर छ

दूतावासमा इटलीमा लडाईं गर्दाका पिताजीका क्याप्टेन दूतावासको दोस्रो वरीयताका हाकिम भएर आएका रहेछन् । ती हाकिमले पिताजीको असाध्यै सम्मान गर्थे । परिवारको आँखा छलेर खुसुक्क १/२ सय रुपैयाँ बुबाका गोजीमा राखिदिन्थे ।

बुबाले एकदिन पैसा दिने हाकिमलाई भन्नुभो- ‘साप मलाई पैसा धेरै भो । सापले मलाई पैसा धेरै दिनुभयो ।’ त्यसपछि उसले भन्यो- ‘तिमी इटलीको युद्धमा धेरै मसँग झगडा गरेको मान्छे हो । माया त लाग्छ नि ।’ ती हाकिम नेपाली राम्रोसँग बोल्थे । उनले यो नेपालीमै भनेका थिए ।

त्यो झगडाका बारेमा मलाई जिज्ञासा लाग्यो । मैले सोधखोज गरें । दुईपटक झगडा भएको रैछ ।

इटलीमा युद्धका बेलामा विभिन्न प्रकारका खाना बनाइँदो रैछ । गोर्खालीहरूले बेलायती सैनिकलाई उनीहरूका टेन्टमा खाना लगिदिनुपर्ने रैछ । मेरो बुबाले त्यो काम गर्न इन्कार गर्नुभएछ । हाकिमले सोधेछ- सबै गोर्खालीले मानिराछन् । तिमी किन नमान्ने । बुबाले- वी आर फर वार, वी आर नो कुक (हामी लडाईं गर्न आएका हौं, खाना बनाउन होइन) भनेर बन्दुक देखाएछन् । त्यसपछि भक्तबहादुर सबैभन्दा नराम्रो भनेर हाकिमले भनेछन् । त्यो पनि धेरैपटक ।

देशमान राई भन्ने अर्का नेपाली मेजर रैछन् । उनले मेरो बुबालाई सोधेछन्- ‘हाकिमले भनेको कुरा बुझ्यौ त ।’

‘मैले बुझेको छैन’ भनेर पिताजीले जवाफ दिनुभएछ । अनि राईले भनेछन्- ‘पहिला तिमी सबैभन्दा राम्रो थियौ रे अहिले सबैभन्दा नराम्रो भयौ ।’

युद्धमा बन्दोबस्तीका सामग्री लिएर हिंड्नुपर्दा एकदिन बुबाहरू जङ्गलमै हराउनुभएछ । भोलिपल्ट मात्र फौजसँग भेट भएछ । भेट भएपछि कमाण्डरले बेस्कन हपारेछन् । हपार्दै उसले भनेछ- ‘आजसम्मको तिम्रो तलबभत्ता सबै कट्टा हुन्छ ।’

बुबाले जवाफ दिनुभएछ- ‘के कुरा गर्नुभएको साब ! यो लडाईं हो । लडाईंमा ज्यानको कुरा हुँदैन । तपाईंले के पैसाको कुरा गरेको ।’

हाकिमले भनेछन्- ‘मलाई यसैगरी कुरा गरेकोले मलाई तिमी मन परेको हो ।’

भनिन्छ- शक्तिमा बसिराख्न बाघले बिरालोका नङ्ग्राको निगरानी गर्छ । विभिन्न बहानामा ती नङ्ग्रा काट्न लगाउँछ । बेलायती गोर्खा सैनिकको सन्दर्भमा पनि माथिको प्रसङ्ग हुबहु मिल्न आउँछ । बेलायतले समान कामका लागि समान ज्याला नीतिगत पैरवीमा नेपाल जस्ता देशमा चेतनाका नाममा धेरै रकम खर्च गर्ने गर्छ । उसकै सरकारी नियममा भने समान काम गरेको ज्यालामा आकाश-जमीनको अन्तर छ ।

बेलायती समाचार संस्था बीबीसीको नेपाली सेवाको फेसबुक पेजमा १३ अगष्ट २०२१ मा गोर्खा सैनिक आन्दोलन बारेमा भिडियो प्रकाशित छ । यसले असमानताको तस्वीर देखाउँछ । उक्त भिडियोमा सैनिककी विधवा पुष्पा राना घले भन्छिन्- ‘एउटै काम गर्दा बेलायती सैनिकले ४०० पाउण्ड पाउँथे भने गोर्खाली सैनिकले २० पाउण्ड । यत्ति धेरै विभेद !’

आर्थिक असमानताले एक मात्रै क्षेत्रमा असर गर्दैन । यसको असर बहुआयामिक हुन्छ । घलेले अगाडि थपेकी छिन्, ‘कम पैसा भएपछि सन्तानले राम्रो पढ्न पाएनन् । पढाइ राम्रो नभएपछि भनेजस्तो काम पाएनन् ।’

कुनै समय बेलायती साम्राज्यमा घाम अस्ताउन्न भनिन्थ्यो । त्यो अहिले कथा भएको छ । आशा गरौं- समान पेन्सन (समान कामको समान ज्याला) माग गरेर आन्दोलन गरिरहेका गोर्खालीहरूको माग छिट्टै पूरा हुनेछ र न्यायको घाम सबैका शरीरमा लाग्नेछ ।