अफगानिस्तान जान मानेन वायुसेवा निगमको जहाज , अवस्था सहज भएपछि मात्र उडान भर्ने निगमको भनाइ

काठमाडौं । नेपाल वायुसेवा निगमले अफगानिस्तानतर्फ हुन लागेको चार्टर उडान स्थगित गरेको छ । यही अगस्ट २६ तारिखमा गर्ने भनिएको चार्टर उडान काबुलको वातावरण बिग्रिएका कारण तत्कालका लागि स्थगित गरेको निगमले जनाएको छ ।

उक्त चार्टर उडानका लागि दुबईको फ्रिको एफजेड कम्पनीले बुकिङ गरेको थियो । उक्त कम्पनीमार्फत अफगानिस्तानमा रोजगारीका लागि गएका नेपालीलाई ल्याउन बुकिङ गरिएको निगमले जनाएको थियो ।

तालिवानले नियन्त्रणमा लिएपछि अफगानिस्तानको अवस्था असहज छ । सरकारले भने अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने तयारी गरेको छैन । काबुल उडानका लागि सरकारबाट कुनै पनि प्रस्ताव नआएको निगमले जनाएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेसँगै निगमले काबुलतर्फ उडान गर्ने योजना बनाएको थियो ।

उक्त उडानमार्फत एक सय जना नेपालीलाई स्वदेश फर्काइने भनिएको थियो । निगमको जहाजले अफगानिस्तानतर्फ चार्टर उडान केही वर्ष पहिले पनि गरिसकेको छ । यस अघि दुर्घटनामा परी मृत्यु भएका नेपालीको शव लिनका लागि निगमको जहाजले काबुलको उडान गरेको थियो ।