एमाले विभाजन रोक्ने प्रयास निरर्थक, मंगलबारपछि तेस्रो धार नरहने विश्लेषकको बुझाइ

काठमाडौं । विभाजनको रन्कोमा परेको नेपाल कम्युनिष्ट पार्टी एमालेमा तेस्रो धार जन्मिएपछि पार्टीको आन्तरिक राजनीति त्रिकोणात्मक शक्ति संघर्षमा प्रवेश गरेको छ ।

नेता माधवकुमार नेपाल एमाले विभाजन गरी नयाँ दल दर्तामा अग्रसर हुनुहुन्छ । विगतमा उहाँसँग रहेका दोस्रो पुस्ताका नेताहरू तेस्रो धार बनाएर एमालेभित्रै संघर्ष गरिरहेका छन् । पार्टी मिलाउने भन्ने उनीहरूको प्रयास भने हात्ती आयो हात्ती आयो फुस्सा जस्तै हुने देखिएको छ ।

तेस्रो धार जन्माएर एमाले एक ढिक्का बनाउने प्रयासले सकारात्मक सन्देश दिन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र विद्रोह गरी नयाँ दल दर्ता प्रक्रियामा प्रवेश गर्नुभएका नेता माधवकुमार नेपाल टसकामस नहुँदा उनीहरूको दबाब निरर्थक बन्ने देखिएको छ ।

ओलीले नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता नलिने अडान लिएर तेस्रो धारको प्रयास निरर्थक बन्ने देखिएको हो । र पनि एकताको रटान चलिरहेकै छ ।

ओलीको कट्टर आलोचक भीम रावललगायतका नेता मध्यमार्गी बनेर एमाले बचाउने अभियानमा लागेको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफूलाई दुवै पक्षको साथ रहेको दाबी गरिरहनुभएको छ ।

पार्टी एकताकै पक्षमा देखिएका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त मझधारमा देखिनु भएको छ, जो विगतमा नेपाललाई उकास्नेभित्र पर्छन् । उनीहरूले नेपालले नयाँ दल दर्ता प्रक्रिया रोक्नुपर्ने आवाज पनि उठाइरहेका छन्, जुन सुनुवाइ हुने सम्भावना लगभग समाप्त भएको छ ।

विगतमा माधव पक्षमा लागेर अहिले तेस्रो धारमा छु भन्नेहरू क्रमसः नेपालकै पक्षमा आउने नेपाल पक्षीय नेता जीवनराम श्रेष्ठको छ । ओलीले नेपालको साथ छाडेर आएर सहकार्य गर्न गरिरहेको आह्वान व्यवहारमा आउनेमा आशंका गरिएको छ । यी र यस्तै कारण तेस्रो धारको एकताको रटान भुत्ते हुने राजनीतिक विश्लेषक डा. सञ्जीव हुमागाईं बताउनुहुन्छ ।

भलै ओलीलाई एकताका लागि तेस्रो धारले मंगलबारसम्मको समयसीमा तोकिदिएको छ । त्यो समयसीमा कट्नासाथ तेस्रो धारले कतै न कतै मिसिन बाध्य हुने देखिन्छ ।