नेपाली कांग्रेसका जिल्ला सभापतिहरुबाट क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग ।

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । हिजो साँझ सभापति शेरबहादुर देउवालाई बुझाइएको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै देउवा ईतरका जिल्ला सभापतिहरुले आज पार्टी मूख्यालय सानेपामा धर्ना दिने तयारी पनि गरेका छन् ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति गरेर सोमबार साँझ क्रियाशील सदस्यता विवाद टुंगो लागेको घोषणा गरिएको थियो । सिटौलाले देउवा र पौडेललाई क्रियाशील सदस्यहरुको प्रतिवेदन बुझाउनु भएको थियो ।

तर उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिन लागेका हुन् । उनीहरुले तत्काल नामावली पार्टीको वेबसाइटमा राख्न माग गरेका छन् ।

जिल्लाहरुले सिफारिस गरेको भन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको आशंका उनीहरुले गरेका छन् । आज विहान ११ बजेदेखि १ घण्टा सांकेतिक रुपमा धर्ना दिने र त्यति गर्दा पनि नसुने थप सशक्त रुपमा उत्रिने तयारी जिल्ला सभापतिहरुको छ ।

नेपाली कांग्रेसमा वडादेखि जिल्लासम्म चार तहबाट सिफारिस भएर आएकालाई मात्रै क्रियाशील सदस्यता दिन सकिने वैधानिक व्यवस्था छ ।

यस्तै जिल्ला सभापतिहरूले जिल्ला सभापतिहरुको निर्वाचन प्रक्रियामा एकरूपता ल्याउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग गरेका छन् ।