रुद्रपुर गढीको विकासका लागि चार करोड बढि रकम

ज्ञानु पंगेनी,कावासोती , १० भदौ ।। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पर्ने धौवादीमा रहेको रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम छुट्टाईएको छ ।
संघीय सरकारको दुई करोड ८ लाख र गाउँपालिकाको दुई करोड ८ लाख रुपिँया गरि रुद्रपुर गढी पर्यटकीय विकास कार्यक्रमका लागि चार करोड १६ लाख रुपिँया छुट्टाईएको हो ।
गाउँपालिकाले सेनकालिन इतिहाससंग जोडिएको रुद्रपुर गढी सहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यस अघि नंै योजना अगाडी बढाएको थियो । तर , सानो रकमले योजना पुरा गर्न सक्ने अवस्था नरहेकाले गाउँपालिकाले संघीय सरकारसंग रकम माग गरेर यस वर्षबाट कार्यक्रम सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।
रुद्रपुर गढीमा सेनकालीन राजाको दरबारको भग्नावशेष,दरबारको सुरक्षाका लागि वरिपरीबाट खनिएको खाल्डो , सेनाहरुले परेड खेल्ने टुडीखेल ,सुरुङ्गहरु रहेका छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकास संगै प्रर्वद्धन गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन सकिने , जसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो ।
छिट्टै विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) तयार गरेर कार्य अगि बढाईने उहाँको भनाई छ ।
यस्तै रुद्रपुर गढीमै प्रदेश स्तरीय हिल स्टेशन समेत निर्माण गर्न प्रकृया अगि बढाईएको उहाँले बताउनुभयो । चौतर्फी रुपमा पर्यटनको विकास गर्न र सबैखाले पर्यटकलाई आकर्षित गर्न हिल स्टेशन निर्माणको योजना अगि सारिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
हिल स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर,कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट , खेलका पूर्वाधार लगायतका भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो । पर्यटन बोर्डले हिल स्टेशनको विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिनुभयो । हिल स्टेशनको निर्माणको लागि पर्यटन बोर्डले ४७ करोड रुपिँयाको बजेट प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
रुद्रपुर गढीलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पवन अर्यालले बताउनुभयो ।
गाउँपालिकाले प्रतेक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आईरहेको छ । रुद्रपुर गढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचनाहरु निर्माण , लाली गुँरास संरक्षित क्षेत्र लगायतका काम भईरहेको उहाँले बताउनुभयो ।
यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास र पर्वद्धन गर्न सके यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास लिएको छ ।