रुम्सी नजिकै थुनिएको गिरुवारी खोला क्रमश बग्न थाल्यो, तत्काललाई खतरा टरेपनि सर्तक रहन प्रशासनको अनुरोध ।

हुप्सेकोट , भदौ १२ ।। पहिरोको कारण नवलपरासी पूर्व नवलपुरको हुप्सकोट गाउँपालिका र मध्यविन्दु नगरपालिका भएर बग्ने गिरुवारी खोलाको थुनिएको बाहव क्रमश बग्न थालेको छ । शुक्रबार पहिरो जादा हुप्सेकोट गाउँपालिका–४ तल्लो रुम्सीमा गिरुवारी खोलाको मुहान राते खोलाको बाहव रोकिएको थियो ।
 
पहिरोको कारण रोकिएको बाहव क्रमश ओभर फ्लो भएर बग्न थालेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । पहिरोले थुनिएको स्थानमा ड्रोन क्यामेराबाट गरिएको अनुगमनमा खोला क्रमश बग्न थालेको देखिएको उहाँले बताउनुभयो । अहिले खोला क्रमश बग्न थालेको कारण केही जोखिम कम भएको उहाँले बताउनुभयो ।
 
पहिरोले थुनिएको स्थान बस्तीबाट टाढा भएको र पुग्न नसक्दा त्यहाँको बास्तविक अवस्थाबारे जानकारी प्राप्त हुन सकेको थिएन । अहिले त्यहाँ पुगेको टोलिबाट प्राप्त जानकारी अनुसार रातो माटोको पहिरो भएको कारण क्रमश लेदो सहित ओभर फ्लो भएर पानी बग्न थालेको छ । अब राति पानी नपरेको खण्डामा तत्काल ठुलो जोखिम नहुने उहाँले बताउनुभयो । तर, राति पानी परेको खण्डमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै खोला तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन उहाँले आग्रह गर्नुभयो ।
 
खोलाको बाहव थुनिदा गिरुवारी खोलामा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले आज बिहान देखि नै खोला तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन आग्रह गर्दै माइकिङ्ग गरेको थियो । सामुदायिक रेडियो दर्पणबाट समेत सचेत रहनको लागि सुचना प्रवाह गरिएको थियो ।
यस्तै विभिन्न स्थानमा गएको पहिरोले खोलाको बाहव थुनिएको भन्दै हुप्सेकोट गाउँपालिकाले पत्थर खोला र गिरुवारी खोला आसपासका स्थानीयलाई सर्तक रहन समेत अनुरोध गरेको थियो ।