अझै खुलेन नवलपुरमा अवरुद्ध पूर्व पश्चिम राजमार्ग

दयाराम आचार्य ,कावासोती, भदौ १३ ।। बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएपछि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन् । नवलपरासी पूर्व नवलपुरको गैंडाकोट २३ स्मृति नजिक नारायणगढ –बुटवल सडक विस्तारका क्रममा निर्माणधीन पुल छेउमा बनाएको डाइभर्सन बाढीले बगाएपछि बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध रहेको छ ।
शनिबार बिहान २ बजे डाइभर्सन बनाएको भएपनि हिलो र दलदलका कारण सवारी सञ्चालन हुन सकेन । शनिबार दिनभर ग्राभेल राख्दै मर्मतको काम गरेपनि गाडी वारपार गराउने क्रममा हिलो र दलदलका कारण फस्ने गरेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।
शनिबार साँझ केही सवारी एकतर्फी रुपमा चलाउने प्रयास गरिएको थियो । तर पानी परेर हिलो भएसँगै सहज रुपमा सवारी वारपार गर्न नसकेपछि पुनः डाइभर्सन मर्मत गरिएको थियो ।
अहिले पनि ग्राभेल राख्ने र एक दुई वटा सवारी वारपार गराउने काम चलिरहेको सूचना अधिकारी सिंहले बताउनुभयो । एम्बुलेन्सलाई प्राथमिकता दिएकाले अन्य सवारी भने कमै मात्रै वारपार गराइएको उहाँले बताउनुभयो । ‘अहिले पनि ग्राभेल राख्दै केही सवारी वारपार गराउने काम हुँदै छ, तर एक दुई वटा सवारी वारपार भएपछि फेरी हिलो हुन्छ गाडी फस्ने गर्छ अनि तान्दै निकाल्ने काम भएको छ ’ सिंहले भन्नुभयो –अहिले अन्य गाडी भन्दा पनि एम्बुलेन्सलाई प्राथमिकता दिएर वारपार गराएकाछौं ।
दलदल र हिलोले गर्दा डाइभर्सनमा यातायात सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो । बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएपछि जाममा रोकिएका सवारीको ठूलो लाइन लागेको छ । लामो समय सम्म राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । कतिपय यात्रु पैदल हिडेर जाम छिचोली यात्रा गरिरहेका छन् ।
 

निर्माण कम्पनीको लापरवाहीले निम्ताएको सास्ती:

नारायणगढ –बुटवल सडक खण्ड चार लेनको बिस्तारको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनको चरम लापरबाहीका कारण यात्रुले सास्ती खेप्नु परेको छ । नवलपुरका विभिन्न खण्डमा निर्माण गरिएका पुल वर्षा अघिनै निर्माण सक्ने जनाएको निर्माण कम्पनीले काममा ढिला सुस्ती गर्दा समस्या निम्तिएको हो । साना साना पुल भएपनि काममा तदारुकता नदेखाउँदा समस्या भएको हो ।
यस अघि पनि यस क्षेत्रमा वर्षाको समयमा डाइभर्सन बगाउँदा राजमार्ग पटक पटक अवरुद्ध भएको थियो । डाइभर्सन भएका क्षेत्र मात्रै होइन नवलपुर खण्डमा अन्य ठाउँमा समेत राजमार्ग जीर्ण रहेको छ । ठेक्का सम्झौता भएपछि सडक विभागले मर्मतको काम छाड्यो । यता निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले राजमार्ग बिस्तारको काम गर्ने तर मर्मत नगर्दा ठूला ठूला खाडलले राजमार्ग जीर्ण रहेको छ । यसले यात्रुलाई सास्ती हुँदै आएको छ । विस्तारको काम समेत कछुवा गतिमा रहेको छ । केही कल्भर्ट बनाउने, रूख काट्ने र केही स्थानमा सामान्य माटो पुर्ने बाहेक कुने काम भएको छैन् ।
२०७५ पुसमा निर्माणको ठेक्का सम्झौता भएको थियो । २०८० साउन २२ मा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको भएपनि निर्माण सम्झौता सकिन करिब २३ महिना बाँकी हुँदा भौतिक प्रगति २० प्रतिशत समेत भएको छैन् । सम्झौता भएको ३२ महिना पुरा हुदाँ भएको छ । तर निर्माणको कामले गति नलिदा र राजमार्ग मर्मतको काम समेत नहुदाँ राजमार्ग जीर्ण बनेको छ । यसले यस खण्डमा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।