कावासोती , १४ भदौ ।। अविरल वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्रका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।
जिल्ल्लाको दलदले–बुलिङ्गटार, दलदले – डेढगाउ, झ्यालबास–धौवादी , दलदले – किर्तीपुर , अरुणखोला – राँकाचुली लगायतका पहाडी सडकहरु अवरुद्ध भएका छन् ।
बर्षाले ठाउँठाउँमा पहिलो गएका कारण बाटो अवरुद्ध भएको हो । बाटोमा पर्ने खोलाहरुमा पानीको सतह बढेका कारण पनि आवजत जावतमा समस्या भएको स्थानीयले बताएका छन् । यसपाली असार पहिलो साताबाट सुरु भएको वर्षाले पहाडी क्षेत्रमा आवतजावतमा निकै समस्या भएको छ । त्यसमाथी पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाले ठाउँठाउँमा पहिरो गएपछि सवारी ठप्प भएको छ ।
काम विषेशले हिडेका स्थानीयबासिन्दाले पहिरो गएकै भिरबाट जोखिम मोलेर पैदलै आवतजावत गरेको स्थानीय बासिन्दा आशिस राना मगरले जानकारी दिनुभयो । निरन्तर जस्तो पानी परिरहँदा दलदलेबाट बुलिङ्गटार , डेढगाउँ , धौवादी जाने पाङ्गे्र भिरमा पहिरोले आवतजावतमा अप्ठेरो भएको थियो । भिर पार गर्न सक्ने अवस्था भएपछि उताको उतै यताको यतै फर्कने गरेर जिपले यात्रुलाई ओसारपासार गर्दै आएका थिए ।
यात्रुले पैदल हिडेर भिर पार गरेर आवतजावत गर्दै आएका थिए । तर , बिहीबारदेखि परेको विरल वर्षाले धेरै ठाउँमा सानाठूला पहिरो गएपछि सवारी आवागमन नै ठप्प भएको बुलिङ्गटार गाउँपालिका वडा नं. चारका अध्यक्ष चेत बहादुर गोदामीले बताउनुभयो ।
पहाडी क्षेत्रमा जाने सडक वर्षाको समयमा प्रतेक वर्ष महिनौसम्म अबरुद्ध हुने गर्दछ । सडकको स्तर उन्नती गर्ने काम चलिरहेकाले अझै बढि पहिरो खस्ने र हिलो हुने सम्भावना बढेको छ । भित्तो काट्ने र ग्राभेल बिछ्याउने काम समेत चलिरहेकाले सानो पानी परेपनि सडक अबरुद्ध हुने गरेको छ ।
सडक अबरुद्ध भएर सवारी ठप्प भएपछि यस क्षेत्रका अर्खला, बुलिङ्गटार, धौंवादी, डेढगाउ, डाडाझेरी, रकुवा , रुचाङ्ग , भारतीपुर , मिथुकरम , लगायतका हजारौं नागरिक प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रका बासिन्दा सरकारी कामकाजका लागि सदरमुकाम कावासोती जानआउबाट बन्चित भएका छन् । कुनै सिकिस्त बिरामी पर्दा अस्पताल ल्याउन समेत नपाउने अवस्था रहेको छ । त्यसैगरी पहाडी क्षेत्रमा उत्पादित कृषि सामाग्रीलाई बजारसम्म ल्याउन पाएका छैनन् । भने, बजारबाट अत्यावश्यक सामाग्री खरिद गरेर गाउँ लैजान पाएका छैनन् । चाडपर्वको समय नजिकै आएकाले आवश्यक पर्ने लत्ताकपडा , खाद्यान्न लगायतको सामाग्री समेत किनमेल गर्न नपाईने अवस्था आएको अध्यक्ष गोदामीको भनाई छ ।