चितवनमा मङ्गलबारदेखि खोप: मजदुरदेखि प्राविधिक विद्यार्थीसम्मलाई दिइने(कहाँ कहाँ लगाइने सूचीसहित )

भरतपुर । स्वास्थ्य कार्यालय चितवनले निरन्तर खोप लगाउने अभियान चलाइरहेको छ । आज भदौ १५ गतेदेखि १८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्य पालिकामा लक्षित समूह हेरी कतै दुई दिन, कतै एक दिन खोप लगाउने समय तोकिएको छ ।
यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ । प्रमुख तिवारीका अनुसार खोप लगाउने मानिस १८ वर्ष पूरा भएको हुनुपर्नेछ । यसपटक लगाइने खोप भेरोसिल हो ।

अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई पनि खोप उपलब्ध गराइनेछ । भरतपुर महानगरको भरतपुर अस्पतालनजिक मातृशिशु क्लिनिक स्वास्थ्य कार्यालयमा भदौ १५ देखि १८ गतेसम्म खोप लगाइनेछ । खैरहनी नगरपालिकामा भदौ १६ गतेमात्र पुरानो पर्साको खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ ।

इच्छाकामनामा पनि भदौ १६ गतेमात्र दारेचोक स्वास्थ्य चौकी, नमुना गाउँघर क्लिनिक मुग्लिन, आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङदीमा खोप लगाइनेछ । यस्तै रत्ननगरमा भदौ १५ गते उद्योग संघमा आबद्ध कर्मचारी तथा मजदुरहरुलाई खोप लगाइनेछ भने भदौ १६ गते प्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई खोप लगाइने छ । रत्ननगर १० को वैरिया माविमा खोप केन्द्र तोकिएको छ ।

कालिकामा भदौ १५ र १६ गते कालिका अस्पतालमा खोप लगाइनेछ । राप्तीमा भदौ १५, १६ र १७ गते भण्डारा अस्पतालमा खोप लगाइनेछ । माडीमा भदौ १६ र १७ गते गर्दी, बघौडा र अयोध्यापुरीमा खोप लगाउने कार्यक्रम तय भएको छ । चितवनका सबै पालिकामा लगाइने खोपको लक्षित समूह एकै किसिमका छन् ।

थप जानकारीको लागि हेर्नुहोस् विज्ञप्ति