एमाले र एकीकृत समाजवादी : लडाईं जुँगाको कि विचारको ?

काठमाडौं । नेकपा (एमाले)बाट विद्रोह गरी नेता माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै एमाले र नयाँ दलको विचारमा के भिन्नता छ भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

केपी शर्मा ओली नेतृत्वको एमालेको विधि, पद्धति र सिद्धान्तलाई गलत साबित गर्ने दौडमा रहनुभएका नेपाल नेतृत्वको नवगठित पार्टी जनताकाबीच समाजवादी कार्यक्रम लिएर जाने योजनामा छ । एकीकृत समाजवादीलाई एमाले भन्दा विचार र सिद्धान्तमा कसरी पृथक देखिने भन्ने चिन्ता छ । एकीकृत समाजवादी यतिबेला एमालेलाई तानाशाही र निरङ्कुश पार्टीको बिल्ला भिराउँदैछ ।

केपी शर्मा ओली नेतृत्वको दलले मार्क्सवाद–लेलिनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनसहित समाजवाद निर्माणमा साझा संकल्पको पथलाई त्यागेर प्रतिगमनको बाटोमा लागेको आरोप अर्को दलले लगाएको छ ।

तर, अरुलाई गाली गरेर ताली पाउने कि नयाँ विचार दिने भन्ने चुनौती नवगठित पार्टी सामुन्ने छ । नेकपा (एस)का नेता जीवनराम श्रेष्ठ, ओली नेतृत्वको एमाले दक्षिणपन्थी दिशातर्फ लाग्नु, विचारको पार्टी नहुनुले आफ्नो दल स्वतः पृथक रहेको ठान्नुहुन्छ ।

कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीले स्थापित गरेको विचार, दृष्टिकोण, विधि पद्धतिमा चल्ने जनपक्षीय आचरणलाई बचाइराख्ने लक्ष्य नेकपा (एस)ले लिएको छ । ओली नेतृत्वको एमालेले कम्युनिष्ट आन्दोलनको जगलाई खरानी पार्ने काम गरेको आरोप लगाउदैं नेकपा (एस)की नेतृ नीरादेवी जैरु आफ्नो दल त्यो भन्दा भिन्न बाटोमा रहेको जिकिर गर्नुहुन्छ ।

नेकपा (एकीकृत समाजवादी)को विधानमा पार्टीको राजनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भनिएको छ । यस्तै, समाजमा सबैखाले शोषण उत्पीडन विभेदहरूको अन्त्य गर्दै जाने, क्रान्तिका उपलब्धीहरूको रक्षा गर्दै शान्तिपूर्ण संर्घष गर्ने, लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्ने विधानमा उल्लेख छ । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद हुने उल्लेख छ ।

एमालेको विधानमा पनि सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्य लेखिएको छ ।
दुवैको विधान केलाउने हो भने एमालेले जनताको बहुदलिय जनवाद र समाजवादमा जोड दिएको देखिन्छ । नेकपा (एस)ले माक्र्सवाद–लेलिनवाद र वैज्ञानिक समाजवादलाई आदर्श ठानेको छ । विचारको लडाईं नभइ जुँगाको लडाईंले एमाले विभाजन भयो । अब विचारमै फर्कने कि कमरेड ?