हिसांमा महिलाको हात भएपनि दोष परुषकै मात्र ? पुरुष हिंसा विरुद्ध पनि बोल्ने कि ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चल्छ । यो अभियानको स्वरुप नै विभेदकारी छ ।

भन्ने बेलामा हामी समानता र समताका ठूल्ठूला कुरा गर्छौं, तर व्यवहारमा भने हिंसामा पनि लैगिकताको प्रारुप खोज्छौं । हिंसामा लैंगिकता कहिलेेदेखि गाँसिन थाल्यो ?

हिंसा भनेको हिंसा नै हो, चाहे त्यो पुरुषले गरोस् या महिलाले । हिंसा सहने ‘पीडित’ नै हुन्छन्, ती महिला हुन् या पुरुष । हिंसा गर्ने ‘पीडक’ नै हो, चाहे महिला होस् या पुरुष ।

‘घर शान्ति नै विश्व शान्तिको आधार हो’ भनिन्छ । यसो भनिरहँदा घरभन्दा अन्यत्र हिंसा हुँदैन भन्न खोजिएको हो ? स्कूल शान्ति नै शिक्षा क्षेत्रको आधार, सडक शान्ति नै यात्राको आधार किन भनिएन ? आखिर कहाँ छैन हिंसा ? कसले को माथि गर्दैन हिंसा ? मौका पाउँदा चौका हान्ने अवसरवादी जो पनि बन्न खोज्छन् । त्यसमा पुरुष मात्रै हुन्छन् भन्ने छैन, धेरथोर महिलाको हिस्सा पनि हुन्छ ।

हामी सधैंभरि श्रीमानले श्रीमतीमाथि अत्याचार गरेको देख्छौं । तर, श्रीमतीबाट उत्पीडित श्रीमानको अवस्थाबारे बेखबर बन्छौं । हिंसा बनेको कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, मानमर्दन गर्ने जस्ता शारिरिक मात्र होइन, मानसिक रुपमा गरिने दुव्र्यहार पनि हिंसाकै रुप हो ।

हाम्रो दिमागमा हिंसा जहिले पनि पुरुषले महिलामाथि मात्रै गर्छन् भन्ने कुरा भरिएको छ । महिलाले फिटिक्कै गल्ती गर्दैनन्, महिला भनेका सहने मात्र प्राणी हुन् भन्ने बुझाइ छ । तर, हेप्ने र होच्याउने ठाउँ आयो भने महिलाले पनि बाँकी राख्दैनन्, राखेको देखिएको छैन भन्दा पनि फरक पर्दैन । परिमाण धेरथोर मात्र हो ।

यस्तो आडम्बरी सोच हामी सबैको मनबाट ननिकालेसम्म हिंसा विरुद्धमा जतिसुकै अभियान चलाए पनि त्यो नाम मात्रको हो । अभियान चलुन्जेल न्यानो ताप्ने, त्यसपछि चिसै ।

रोजगार लोग्नेका बेरोजगार स्वास्नी बन्नुपर्दा महिलाहरु हेपिनुपरेको गुनासो गर्छन् । उनीहरु आफू जागिरमा गएर लोग्ने घरमा बेरोजगार भएर बसोस् त, उसले कति अमिलो वचन सुन्नुपर्छ ! खानदानीका छोरी बिहे गर्ने सामान्य हैसियतको श्रीमान् बाँचुन्जेल श्रीमतीसँग हेपिएर बस्नुपर्छ, यसमा महिलाले गरेका हिंसाको वास्ता गरिँदैन । किनकि हिंसामा पुरुषकै हात हुन्छ भन्ने आम मान्यता छ ।

केही वर्षअघि बबरमहलमा बस्दा देखेको एउटा घटनाले अहिले पनि मन पोल्छ । हाम्रो कोठा नजिकैको घरमा डेरामा एक जना दिदीका आमा-छोरी बस्थे । गोर्खा विकास बैंकमा काम गर्ने ती दिदीका श्रीमान् वैदेशिक रोजगारमा गएका थिए । तीन वर्ष विदेश बसेर श्रीमान् घर फर्किए ।
श्रीमती बैंककी जागिरे, छोरी स्कूल जाने भइसकेकी थिई । कति खुसी थियो परिवार ! श्रीमती अफिस जान्थिन्, श्रीमानले श्रीमतीका लुगा धोइदिन्थे, घर सफा गर्थे । बच्चालाई खुवाउने, स्कूल पुर्‍याउने काम पनि आफैं गर्थे । सकारात्मक सोचका थिए उनी ।
श्रीमती अफिसबाट अँध्यारो अनुहार लगाउँदै फर्किन्थिन् ।

‘यस बेलासम्म खाना पकाएका छैनौ ? बच्चालाई यस्तो गरेनौ ? उस्तो गरेनौ ? कुन-कुन लुगा धोइदियौ ? दिनभरि के-के गर्‍यौ त ?’ यस्तै अनेक कुरामा गनगन गर्थिन् ।

श्रीमान् चाहिँ आज भ्याइनँ, यति गरेँ अरु भोलि गरुँला भन्थे । वरपरका मानिस कुरा काट्ने खुराक पाउँथे । ‘कस्तो जोइटिग्रे हो, स्वास्नीका लुगा धोएर बसेको छ, जानु नि फेरि विदेश, स्वास्नीको गुलाम भएर त के बस्नु !’ यस्तै-यस्तै ।

श्रीमतीको ठाउँमा श्रीमान् अफिस गएका हुन्थे र घरको काम श्रीमतीले गर्थिन् भने त्यो कुरा काट्ने खुराक बन्दैन थियो । तर, जागिरे श्रीमतीको श्रीमान् भएर गृहिणीको काम गर्दा यस्ता कुरा सुन्नुपर्‍यो । ती दिदी लोग्नेलाई यति हेप्थिन्, बाटोमा सँगै हिँड्न पनि गाह्रो मान्थिन् । अफिसका साथीसँग भेट हुँदा पनि मेरो लोग्ने भनेर चिनाउँथिनन् । साथीहरुले श्रीमान् कहाँ के काम गर्छन् भनेर सोधेमा आफ्नो बेइज्जत हुने उनको चिन्ता थियो ।

दुई जनाको बीचमा राम्रो बोलीचाली समेत भएन, एक वर्षसम्म जेनतेन बसेका श्रीमानले पछि के सोचे कुन्नि, उनी फेरि विदेश हानिए । सायद उनलाई श्रीमतीको दास हुनुभन्दा परदेशीको दास हुनु वेश भन्ने लाग्यो ।

यस्ता पात्र धेरै छन् समाजमा । ती दिदीले आफ्नो लोग्नेको सम्मान र औकात दाँजिन्, पेशा दाँजिन् र सम्मान दिन सकिनन् । यही व्यवहार पुरुषले महिलामाथि गर्छन्, त्यसैलाई हामी महिलामाथि हुने हिंसा भन्छौं । पुरुषमाथि हुने हिंसाको बारेमा पनि बोल्ने कोशिस गरौं न !
केही दिनअघि राजधानीको एक स्कूलका छात्रामाथि त्यहाँको लेखापालले यौन हिंसा गरेको समाचार आयो । स्कूलमा हाम्रा छोरी-बहिनीहरुले राम्रोसँग अध्ययन गर्न पाएनन्, उनीहरु ढुक्कसँग पढ्न पाउने वातावरण बन्नुपर्छ भन्ने आवाज घटना भएकै दिन उठ्नुपथ्र्यो । त्यसको लागि पनि यही महिला हिंसा विरुद्धको अभियान नै कुर्नुपर्ने ?

कार्यालयमा कर्मचारी र कामदारमाथि हुने हिंसा, घरमा, समाजमा हिंसा भएका छन् भने हिंसाको हिस्सा महिला र पुरुष दुवैले लिनुपर्छ र आइन्दा यस्ता घटना नहोऊन् भनेर लाग्नुपर्छ । महिला हिंसा विरुद्धको मात्रै अभियान चलाउनुको अर्थ पुरुष हिंसा भए पनि फरक पर्दैन भन्ने हो भने त्यसको अर्थ छैन ।

महिला हिंसा विरुद्धको १६ दिने अभियामा देश-विदेशमा महिला हिंसा विरुद्धमा आवाज उठाइन्छ । यो अभियान वर्षमा १६ दिन मात्र मनाउने हो कि अरु दिनमा पनि मनाउनुपर्छ, यो चाहिँ अनुतरित प्रश्न हो । हिंसा जस्तो सवालमा पनि महिलामाथि हुने हिंसाको विरुद्धमा मात्रै अभियान चलाउने प्रचलन नै व्यक्तिगत रुपमा यो पंक्तिकारलाई ठीक लाग्दैन । ‘महिला विरुद्धको हिंसा’को साटो ‘हिंसा विरुद्धको अभियान’ भनेको भए उचित हुने थियो जस्तो लाग्छ ।

समाजमा महिलाले खेेपेको हिंसाको बढी चर्चा हुन्छ, समाचार बन्छ, अभियान चल्छ । तर, यही समाजमा पुरुषले खेपेका हिंसा पनि महिलाको तुलनामा कम छैनन् । ती घटना भने सार्वजनिक हुँदैनन्, गरिँदैन ।

एक जना श्रीमानले आफ्नी श्रीमतीमाथि गरेको हिंसाको मुद्दा लिएर जहाँ गए पनि उनको मुद्दाको सुनुवाइ हुन्छ, पुलिस-प्रशासनले जाहेरी लिन्छ, सहानुभूतिका शब्द पनि महिलाले पाउँछिन् । तर, त्यही खाले घटना लोग्नेमाथि भएको रहेछ भने पहिलो कुरा त्यो घटना सार्वजनिक गर्न सजिलो हुँदैन । समाजले के भन्ला ? घरपरिवारका सदस्यले के भन्लान् ? साथीसंगीको बीचमा कस्तो प्रभाव पर्ला भन्ने संकोच बढ्छ । पुलिस-प्रशासनको सहारा खेाज्न जाँदा पनि लोग्नेमान्छेका मुद्दामा त्यति साह्रो संवेदनशील भएको पाइँदैन, जति महिलाको मामिलामा हुन्छन् । उल्टै ‘एउटी स्वास्नी पनि मिलाएर राख्न नसक्ने नामर्द’ भन्ने जस्ता लाञ्छना खेप्नुपर्छ ।

यस्तो अवस्थामा पुरुष विरुद्धको हिंसा हुन्छ कि हुँदैन ? पुरुषमाथि हुने हिंसाका घटनाको बारेमा सुनुवाइ हुनुपर्छ कि पर्दैन ? यस बारेमा पनि बहस पैरवी गर्नुपर्ने अवस्था छ ।

एउटा श्रीमान् घर-परिवारको खुसीको लागि अर्काको मुलुकमा पसिना बगाउँछ । तर, त्यही श्रीमानको रगत-पसिनाको कमाइमा रमाउने श्रीमती अर्कैसँग भाग्छे । त्यो अवस्थामा श्रीमानले भोगेको मानसिक पीडाको क्षतिपूर्ति के हुन्छ ? यो पुरुषमाथि गरिएको बेइमानी होइन ?
लोग्नेले श्रीमतीमाथि विश्वास गरेर पैसा पठाउँछ । त्यही पैसामा श्रीमती अर्कैसँग खुसी मनाउँछे । बालबच्चाको बिचल्ली हुन्छ । समाजले उल्टै लोग्नेलाई दुत्कार्छ, ‘यस्ती स्वास्नी छ भन्ने थाहा पाउँदा-पाउँदै किन उसैलाई पोसिस् ?’ धन पनि स्वाहा, श्रीमती पनि गायब, बालबच्चाको विचल्ली ।

त्यसैले यस बारेमा पनि हाम्रा आवाजहरु उठ्नुपर्छ ।

अनलाइनखवरबाट………………………….