के धनी केटा खोजेर छोरीको बिहे गर्नु गलत होइन?

सुशिला नेपाल।। खै! मैले नबुझेको कि समाजका हरेक परिवारले बुझ्न नसकेको हामीले छोरीको बिहे गर्न धनी, व्यवसाय फस्टिएको, हेन्डसम खोज्छौँ हैन त? तर फेरि दाइजो माग्नेदेखि रिस उठ्छ!

हामी धनी केटा किन खोज्छौँ? हामीले कतिपय घटनाहरुमा ज्यान समेत गएको सुनेका छौँ। दाइजोको पछि लाग्दा र हामी धनको पछि लाग्दा केटा कस्तो छ? उसको समाजप्रतिको सोच, उसको विचार, भावना र अरुलाई गर्ने आदर, सम्मान, माया र सद्भाव कस्तो छ? भनी नबुझी अलि दिनमै छारीले सुख पाउछे भनी दिन्छौँ। त्यही छोरी मरुभूमिमा पानी खान नसकी तड्पिएको जनावरसरि जीवन जिउन बाध्य हुन्छे।

हामी आफ्ना छोरी-चेलीलाई मृत्युको मुखसम्म पुर्याउन किन खोज्दै छौँ? कारण देखासिकी र रवाफ! सायद चेतनाको कमीले हो या परिवारलाई बुझाउन नसक्दा, कि त लोभ र लालचले भरिएको हाम्रै मन र दिमागको दोष हो।

जब हरेक परिवार फेसबुकमा सुख र शान्ति देखाउन मात्र गरिएको नाटकले भित्रभित्रै पोलिरहेको हुनसक्छ। तर भित्रदेखि जीवन खुसी राख्नका लागि मनमा शान्ति र परिवारमा एकता आवश्यक छ।

ठूला घर र महंगा कारमा चढेर मात्र मनमा शान्ति छाउन्न। झुपडीमा बसी सुखको सास फेर्नेहरु पनि छन्। तर हामी यश-आराम, पैसालाई महत्व दिन्छौँ न कि आफ्नो मानसिक र शारीरीक रुपमा स्वस्थ्य हुन।

कतिपय नशामा परी परिवार, समाज र आफ्नै जीवन बर्बाद पारिरहेका हुन्छन्। यसमा अभिभावकको बेवास्ता, उनीहरुलाई बाल्यकालमा समय नदिनु, उनीहरुको कुरा नसुनिदिँदा, सही सहयोग र साथ दिन नजान्दा लागुपद्धार्थको कुलतमा परी न आफू न अरुलाई नै सुखको साथ रमाउन पाउँछन्। त्यस घरका सदस्यलाई भएको अनिन्द्रा र निराशपन सायद अरुले महसुस गर्न नसक्ला।

यस्तै घटना मेरो छिमेकमा पनि देखेको छु। एकजना छिमेकी बहिनी अप्सरा थिइन्। उनको माइत गाउँमा थियो। उनलाई धनी केटा छ, काठमाडौँमै घर छ, सहरमा बस्न सहज हुन्छ भनी अरु केही नबुझी दिएका रहेछन्। हामी छोरी बिकाउन धनी खोज्छौँ र दाइजो पनि मागे जति दिन्छौँ। तर त्यसपछिको परिणाम कल्पना गर्न नि नसक्ने हुन्छ।

अप्सराको श्रीमानलाई पुलपुलाएर पालेका रहेछन्। उसलाई कुनै जिम्मेवारी लिएको देखिँदैन थियो न त श्रीमतीको चिन्ता। मात्र नशामा तल्लीन भइ रमाउन चाहन्थे। केटा पहिलेदेखि कुलतमा फसिसकेको रहेछ। अप्सरालाई थाहा थिएन। त्यसपछि उसको बच्चा भयो।

छ महिना माइत बसिन्। उसको दोष भनेर परिवार ऊमाथि नै खनियो। बुढा दिनरात नशामा मस्त बस्ने चाल पाएपछि ऊ माइतै बसेकी थिई। सहज रुपमा हेर्ने हो भने सुत्केरी हुँदा छ महिना बस्नु ठिकै थियो कि? तर फर्केर घर आइन् समाज र परिवारको इज्जतका लागि।

अप्सराको छ जना आमाजू र नन्द थिए। सायद महिलाले महिलाकै खेदो खेनेको होकि भन्ने लाग्यो किनकि आमालाई कुरा लगाउने र समयमा खान नदिइ भोकै राख्ने गर्दा रहेछन्। पुष/माघको जाडोमा त्यो सानो बच्चालाई चिसो पानीले नै नुहाइदिएको देख्दा मन नै ढुंगा झैँ पारिदियो। त्यो दृश्य मेरो मानसपटलमा अझै अडिएको छ।

उसका दिन र रात एक थिए। न त सास नै सजिलोसँग फेरिए। मुटु फुटेर आएको झैँ हिँड्न नसकी थाकिसकको जहाँ लामो यात्रामा दाउराको भारीले आफैलाई चिर्थे जस्तो थियो। उसको शरीरमा मासुका भाग देखिन्न थियो। मात्र हड्डीमा टाँसिएको छाला र गाला चाउरिएको देखिन्थ्यो। जबकि उनी मात्र २५ वर्षकी थिइन्।

उसलाई देख्दा दिन नै बिताउन मुस्किल लाग्थ्यो। उसको अनुहार झलझल आँखामा आउँछ। विस्तारै उसलाई घरबाट निकाल्न उसको बुढाले चाल खेल्न थालेछ। अप्सराका जीवनसाथीले  भन्न थाले, ‘सधैँ म हेर्छु, घरकाले देखिसहेनन्।’

अप्सराले श्रीमानको कुरा विश्वास गरिन् र उनीहरु छुट्टै कोठा लिइ बसे। अप्सराको श्रीमान् विदेश लागेछन्। वर्षदिन बित्यो तर न उसको फोन आयो न त कहाँ छन् उनको भन्ने नै थाहा भयो। उसको साथमा सानो छोरा थियो। उसलाई पढाउने समय आयो। धेरै दुःख गरी अप्सराले मन्टेश्वरी तालिम लिइन्। त्यसपछि स्कुलमा पढाउन थालिन्।

आफ्नो खुसी र संसारमा रमाउँदै थिइन्। जीवनसाथीले छाडेको निकै वर्षपछि कोहीबाट सुनिन् कि श्रीमानले अर्को बिहे गरेर पनि छोडिसकेको रे। उनले दिनरात बिताएको आँसुको सिरानी, पाँच वर्षसम्मको पर्खाइ त केवल भ्रम रहेछ बुझिन्। सामान्य आफ्नै दैनिकीमा फर्कन बाध्य भइन् किनकि त्यहाँ आश गर्नू र भर पर्नुको कुनै अर्थ थिएन। आफ्नै छोरासँग भलाकुसारी गर्दै दिन कटाउने गर्थिन्।

धेरै समयपछि उनलाई श्रीमानको फोन आउँछ। उसले आवाज चिने पनि नचिने झैँ गरिन्। अप्सराका श्रीमानले भेटेर भने, ‘तिमी मसँगै बस, धेरै दुःख दिएँ अब दिन्नँ।’

अप्सराले भनिन्, ‘के भर तपाईंको? कान्छी श्रीमतीलाई पनि सुख नदिनेले मलाई दिनुहुन्छ भन्ने के ग्यारेन्टी छ?’

उसको श्रीमान लुरुक्क परी घर फर्किए।

जीवन एउटा डुंगा रहेछ, जीवनका रथले पछाडिका पाइला मेटिँदै जान्छन्। उनले आउने जीवन र आफू केमा खुसी र जीउन सहज हुन्छ त्यही गरिन्। समय बलवान पनि छ। जब अप्सरा जाडे श्रीमानले छोडेर बेसहारा भएकी थिइन् तब उसका हात संघर्ष गर्न अघि बढे।

उनले पढेको हुनाले आफ्नो खुट्टामा उभिन सकिन् नत्र भने उसको जीवन सडकमा मागेर जीवन चलाउन पो पर्थ्यो कि? त्यस्ता नारी छन् जसले आफ्ना लागि लड्न केही हतियार साथमा नहुँदा जीवनभर रोइ बस्नुपरेको छ। यति भन्न चाहेँ, दाइजो नदिनुस् बरु, धनी पनि नर्हेनुस्। हरेक बाबाआमा छोरीलाई राम्ररी पढाइदिनुस् र असल साथी बुझेर मात्र छोरी दिनुस्।

छोरी बिकाउने साधन होइन। जति छोराले गर्न सक्छन् त्योभन्दा बेसी छोरीले नि गर्न सक्छन् तर साथ, सहयोग र माया तथा छोरीप्रति भरोसा गरौँ। सबै छोरीलाई चाहेको जति पढाइमा खर्च गरौँ, दाइजोमा होइन।

पाइला-पाइलामा हामीले मानिसका दुःख बुझ्ने कोसिस गर्यौं भने हामीभन्दा दुःखी पनि छन् भनी आफूलाई तथा आफ्ना समस्या र जीवनलाई बुझ्न सहज हुनेछ।