
प्रमुख प्रतिपक्षी दल एमालेले आन्तरिक मामिलामा आँखा नलाउन अन्य दलहरुलाई चेतावनी दिएको छ । महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गरेर एमालेबाट विभाजित भएर बनेको पार्टीमा लाग्न अन्य पार्टीका नेता, कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्काउने जस्ता क्रियाकलाप गरेको भन्दै आन्तरिक मामिलामा नखेल्न चेतावनी दिएका हुन् ।
महासचिव पोखरेलले पार्टी एकताको पक्षमा उभिन पनि जनप्रतिनिधिहरुलाई विज्ञप्तिमार्फत अपील गरेका छन् । ‘एमालेका देशैभरका जनप्रतिनिधिहरुलाई फुट र विभाजनको विपक्षमा उभिन, अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन एमालेको घोषणापत्रको आधारमा निर्वाचित सूर्य ध्वजवाहक जनप्रतिनिधिहरुमा हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
अहिले देशभर एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्ने क्रम चलिरहेको छ । प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले दल विभाजन भएको २१ दिनभित्रमा पार्टी रोज्न पाउने व्यवस्था अध्यादेशमा छ । त्यसै बमोजिम निर्वाचन आयोगले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ ।