अख्तियारमा उजुरी- पशुपतिमा ९७ किलो सुनको जलहरी लगाएर अरू ११ किलो गायब पारियो
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा र पूर्वसदस्य सचिव प्रदीप ढकालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ।
पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि उनीहरू दुई जनालाई अख्तियारले बयान लिएको हो।
बयानमा कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडासहित अन्य पदाधिकारीहरूलाई पनि अख्तियारले बोलाएको छ।
अख्तियार उच्च स्रोतका अनुसार जलहरीमा १०८ किलो सुन लगाउने भने पनि परिमाण कम भएको उजुरीको आधारमा उनीहरूसँग बयान लिइएको हो।
१०८ किलोको सुन लगाउने भनिए पनि ९७ किलोमात्र लगाएर बाँकी सुन ‘गायब’ पारिएको उजुरी परेपछि अख्तियारले अनुसन्धानमा सक्रियता देखाएको हो।
‘सुन के कति गायब हो वा होइन, अहिले नै किटान गरेर भन्न नसकिए पनि गडबड भएको देखिएपछि अनुसन्धान थालिएको हो,’ अख्तियार उच्च स्रोतले भन्यो।
उक्त स्रोतका अनुसार फागुन ११ गते जलहरी लगाइसकिएको थियो। सो दिन राति ८ बजे मुचुल्का बनाउँदा ९७ किलोमात्रै सुन खपत भएको उल्लेख थियो।
त्यही राति ११ बजे अर्को मुचुल्का बनाउँदै कोषका अधिकारीहरूले बाँकी सुनको ‘रिङ’ बनाएर लगाइएको उल्लेख गरेका थिए।
‘तीन घन्टामै किलोको किलो सुनको रिङ बनाएर लगाइएको कुरा पत्यारलाग्दो देखिँदैन,’ स्रोतले भन्यो।
सुनको जलहरी लगाउँदाताका थापा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष थिए। साउन ३१ गते तत्कालीन सदस्य सचिव ढकालको कार्यकाल सकिएपछि पर्यटन मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई नयाँ सदस्य सचिव नियुक्त गरेका थिए।
२०७७ फागुन १२ गते राष्ट्रपतिबाट उद्घाटन गराउँदा १०८ किलोकै जलहरी भनिएको थियो।
यति ठूलो विषयमा कोष सञ्चालक परिषदमा बैठक नै नराखी केही व्यक्तिहरूले ‘गुपचुप’ रूपमा रातारात निर्णय गरेर जलहरी उद्घाटनको समय तय गरेका थिए।
पछि कोषका केही पदाधिकारीले सुनको हिसाब खोज्दा उनीहरूले देखाउन सकेनन्।
‘केही व्यक्तिले उक्त विषयमा चासो राख्दा केही सुनमा तामा मिसाएर किला बनाई मर्मत गरेको भनी बाँकी सुन पचाउन खोजेका छन्,’ उजुरीमा उल्लेख छ।
अख्तियार स्रोतका अनुसार जलहरीमा केही तामा मिलाएर लगाउनु पर्ने भए पनि ११ किलो सुनको हिसाब पारदर्शी देखिएको छैन।
जलहरीको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन कार्यालयका तत्कालीन सचिव यादव कोइरालाको संयोजकत्वमा जलहरी अनुगमन समिति गठन गरिएको थियो। उक्त समितिमा पुरातत्व विभागका महानिर्देशक, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, कार्यकारी निर्देशक र कोषका एक सदस्य थिए।
अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले पशुपति मन्दिरको शिवलिंगमा सुनको जलहरी लगाइएको विषयमा छानबिन तथा अनुसन्धान भइरहेको बताए।
‘उजुरीउपर छानबिन हुँदा केही व्यक्तिहरूलाई बयानमा बोलाइएको हो, अनुसन्धानका क्रममा रहेको कुरा अहिले भन्न मिलेन,’ उनले भने, ‘जलहरी हाल्दा कम परिमाणको हालियो भन्ने कुरा छ।’
२०७७ साल माघ ७ गते पशुपतिमा संकल्प पूजा गर्न पुगेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले पशुपतिमा एक अर्ब रुपैयाँ बराबरको सुनको जलहरी लगाउने घोषणा गरेका थिए। त्यसपछि कोषले जलहरी लगाउने प्रक्रिया अघि बढाएको थियो।
प्लिजिङ लाइट खरिदमा पनि अनियमितता
पशुपति क्षेत्र विकास कोषमा प्लिजिङ लाइट खरिद गर्दा ५ करोड ५० लाख रुपैयाँ भ्रष्टाचार भएको उजुरीमाथि पनि अख्तियारले छानबिन गरिरहेको छ।
प्लिजिङ लाइट पशुपति मन्दिरको पश्चिम ढोकाको उत्तरतर्फ राखिने भनिएको थियो।
स्रोतका अनुसार प्लिजिङ लाइट खरिदका लागि ५ करोड ९२ लाख ३३ हजार ८९९ रुपैयाँ लागत स्टिमेट गरिएको थयो।
२०७७ साल असारमा बोलपत्र आह्वान भई सम्झौतासमेत भएको थियो। तर, पशुपति क्षेत्र विकास कोषले १ करोड पनि नपर्ने प्लिजिङ लाइटलाई ५ करोड ५० लाख विनियोजन गरेर भ्रष्टाचार गरेको आरोप तत्कालीन पदाधिकारीलाई लागेको छ।
यो कार्यमा तत्कालीन मन्त्री योगेश भट्टराई, सदस्य सचिव, कार्यकारी निर्देशक, लेखा प्रमुखले जालसाजीपूर्वक काम गरेको आरोप उजुरीमा लगाइएको छ। पहिले नै पर्याप्त बत्ती हुँदाहुँदै नयाँ बत्ती खरिद गरिएको, १ करोड मूल्य नपर्ने बत्तीलाई पाँच गुणा बढीमा ल्याएको देखाएर भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताले लगाएका छन्।
‘यसमा के कसो भएको हो भनी तत्कालीन पदाधिकारीसँग बयान लिने काम भएको छ,’ अख्तियार स्रोतले भन्यो।
सेताेपाटीबाट………………………..
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी