अनलाइनबाट पढाउन सम्भव नभएपछि खुल्न थाले विद्यालय
अनलाइन कक्षामा विद्यार्थीको पहुँच नपुगेपछि झापाको केही स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । झापाको गौरीगन्ज, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकाले आंशिक रूपमा विद्यालय खोलका हुन् । कोरोना महामारीका कारण लामो समयसम्म भएको निषेधाज्ञाले विद्यार्थी मर्कामा परेपछि झापाका १५ मध्ये तीन स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन सुरु गरेका हुन् । तर, विद्यालय भने पूरा समय लाग्दैन ।
विद्यार्थीको सिकाइ क्रियाकलापलाई अघि बढाउन ‘सिफ्ट’मा विद्यालय सञ्चालन गरिएको स्थानीय तहले जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा असम्भव भएकाले विद्यालय सञ्चालन गर्नुपरेको गौरीगन्ज गाउँपालिकाले जनाएको छ । ‘भारतसँग जोडिएको सीमावर्ती गाउँमा अधिकांश विपन्न विद्यार्थी छन्,’ गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ भन्छन्, ‘उनीहरूका लागि अनलाइन कक्षा कसरी गर्ने ? गाउँमा मोबाइलको टावर पनि राम्रोसँग दिँदैन । त्यही भएर भौतिक कक्षा नै सुरु गरेका हौँ ।’
ग्रामीण क्षेत्रमा अनलाइन कक्षा असम्भवजस्तै छ । नेपाल–भारत सीमावर्ती गाउँपालिकाका केही विद्यालयले विगतमा पनि अनलाइन कक्षा सञ्चालन गरेका थिए । तर, ४० प्रतिशत पनि विद्यार्थीको सहभागिता नदेखिएको गौरीगन्ज माविका प्रधानाध्यापक गोविन्द घिमिरेले बताए । ‘हामीले कक्षा ११ र १२ को अनलाइन कक्षा गरेका हौँ । ठूलो कक्षामा त ४० प्रतिशत पनि विद्यार्थी हुँदैनथे,’ उनी भन्छन्, ‘सानामा त झन् कसरी हुनु ? सीमावर्ती क्षेत्रका विद्यार्थी पढ्ने विद्यालयमा यो सम्भव नै छैन । अहिले दुई सिफ्ट गरी थोरै विद्यार्थी राखेर पढाउँदै छौँ । यसो गर्दा हप्तामा एउटा कक्षालाई दुई दिन पर्छ । यो शैक्षिक उपलब्धिका लागि पर्याप्त छैन । मात्र विद्यार्थीलाई सक्रिय बनाउन खोजिएको हो ।’
अनलाइन शिक्षा भएका स्थानीय तहमा पनि प्रभावकारी सिकाइ भएको छैन । विद्यार्थीको सहभागिता नै न्यून रहेको बिर्तामोडका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी बताउँछन् । ‘अनलाइनमा धेरै त विद्यार्थी आउँदैनन् । आधा पनि कहिल्यै पुगेका छैनन्,’ उनले भने, ‘आएका पनि राम्ररी पढ्न सक्ने अवस्था छैन । अनलाइन शिक्षा प्रभावकारी भएन । अब विकल्प खोज्नुपर्ने विद्यालयहरूको सुझाब छ ।’
कचनकवल गाउँपालिकाले पनि अनलाइनबाट पठनपाठन गर्न सम्भव नभएपछि विद्यार्थीलाई एकछिन भए पनि विद्यालय बोलाएर पढाउन थालेको शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए । ‘कक्षा सञ्चालनका लागि गाउँ–गाउँमा विद्यार्थीलाई सिम बाँडेका थियौँ । तर, विद्यार्थीसँग मोबाइल नै नहुने रहेछ । कक्षा गर्न सकिएन ।
सीमावर्ती गाउँमा टोल कक्षा पनि सञ्चालन गर्न नसकिने रहेछ,’ उनले भने, ‘त्यही भएर भौतिक रूपमा सिफ्ट बनाई उपस्थित गराएर पढाउन सुरु गरेका छौँ । भिडभाड नगरी पढाउन विद्यालयलाई भनेका छौँ ।’ शिवसताक्षी नगरपालिकाले पनि विद्यार्थी थोरै भएका विद्यालयमा पढाउन सुरु गरेको नयाँ पत्रिकामा खबर छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी