नवलपुरस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल हुदैं

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयाेग गर्नुभएकाे छ । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मगरलाई राईले मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गर्नुभएकाे हाे ।

रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाउनु भएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष रमेश राउतसहित अर्खौले पुग्नु भएकाे थियाे महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल हुनुभएकाे थियाे ।

छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताउनु भयाे । हाल उहाँ सामाजिक सञ्जालमा भाइरल बन्नुभएकाे छ ।