काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ९ सयभन्दा बढीलाई विभिन्न मान पदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ ।
सबैभन्दा ठूलो सम्मान सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिने भएको छ । यस्तै दोस्रो ठूलो राष्ट्रगौरव विभूषण नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिइने भएको छ ।
तेस्रो ठूलो महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण दिवंगत नेताहरु तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा, स्वर सम्राट नारायण गोपाल र वामपन्थी नेता मोहनचन्द्र अधिकारीलाई दिइने छ ।
यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री पाउनेमा प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंह रहेका छन् । यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ ।
यस्तै सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् ।
महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि प्रबल जनसेवाश्री पदक पाएका छन् । यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई पनि सर्वोच्चका न्यायाधीशहरु सरहको प्रबल जनसेवाश्री पदक दिइएको छ ।
यस्तै मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि सोही पदक पाएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका छन् ।
विभूषण पाउनेहरुको नामावली