क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आयो : अध्यक्ष दाहाल

काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताउनुभएको छ ।

बिहीबार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताउनुभएको हो ।

विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरुको कार्यशैलीमा स्खलन भएको उहाँले बताउनुभयो । पार्टीका नेताहरु पद, प्रतिष्ठा, पैसा र कमिशनको निम्ति मरिहत्ते गर्ने भन्दै उहाँले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताउनुभयो । जो नेता जतिधेरै माथि भयो उतिधेरै स्खलित भएको उहाँको भनाई छ । पार्टीबाट जति धेरै मन्त्री बने उनीहरु नै पतन भएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीमा रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो ।

प्रतिनिधिसभाको २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने भन्ने विकल्प रहेको अध्यक्ष दाहालको भनाई छ । सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उहाँको भनाइ थियो । वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने स्थिति आएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने दाहालको तर्क छ । यसका निम्ति सडकबाटै जनताले दबाब दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले युवा तथा विद्यार्थीहरुलाई विकृति र विसंगतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन निर्देशन समेत दिनुभयो ।