
कात्तिक १, एनसञ्चार संवाददाता ।
काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस आज दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको हो।
उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उनले बताए।
यसैगरी देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता ईलामको माइजोगमाई गाउँपालिका-२ घारेगाउँस्थित सडकमा को.१ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।