कात्तिक २, काठमाडौं ।।

यही मंसिरमा हुने एमालेको महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा पनि १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र योग्य हुने भएका छन् ।

पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि चुनिन एक दशकको योग्यता तोकेको हो । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा केही नरम नीति लिइएको छ । त्यस्ताको हकमा ७ वर्ष मात्र पार्टी सदस्य भए पुग्नेछ ।

यसैगरी एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्य वा केन्द्रीय विभागको सदस्य तथा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भएर एक कार्यकाल काम गरेको व्यक्ति पनि केन्द्रीय सदस्यको उम्मेदवार हुन पाउँछ ।

केन्द्रीय कमिटीको पदाधिकारी बन्न कम्तिमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनपर्नेछ । पालिका वा सो भन्दा माथिल्लो कमिटीमा एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था विधानमा उल्लेख छ ।

त्यस्तै, सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा छ ।