माैसममा खराबीका कारण उद्धारका लागि ढुंगाड पुगेको हेलिकोप्टर फिर्ता, दुई खालको मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, बिहीबारसम्म प्रभाव पर्नेः माैसमविद्
कात्तिक २, बैतडी।। एजेन्सी ।। बैतडीको सिगास गाउँपालिका-५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि त्यहाँ पुगेको हेलिकोप्टर फिर्ता गएको छ।
सेती नदी गाउँमा पस्दा गाउँको टापुमा फसेका व्यक्तिहरूको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। हेलिकोप्टरले तीन पटकसम्म कोसिस गर्दा पनि अवतरण गर्न नसकेपछि फिर्ता गएको उनले बताए।
सेती नदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेका छन्। अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भइरहेको बताइएको छ।
नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ।
खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन्। हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए। यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ। बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ। यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो।
दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ। नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ। यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ।
डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक/एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ।
यस्तै बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।
यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।
खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुदुरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको जानकारी दिए। प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा भएको छ।
बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक,दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए। यसपटक मनसुनमा धेरै वर्षा भएको थियो।
पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो। वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन्। गृहमन्त्री बालकृष्ण खाणले पनि मातहतका निकायलाई उद्धार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन्।
उद्धारमा सेनाको हेलिकाेप्टर पठाइयो
दुई हेलिकाेप्टरले उद्धारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्धार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।
कञ्चनपुरमा सेनाको हेलिकाेप्टर उद्धार गर्न गएको तर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ। मौसम अनुकूल हुने बित्तिकै हेलिकाेप्टर जाने पाण्डेले बताइन्। उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्धार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्धारका लागिसमेत काठमाडौँबाट हेलिकाेप्टर पठाइएको छ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्धार गर्न गएको सानो हेलिकाेप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौँबाट पठाइएको ठूलो हेलिकाेप्टर पनि खराम मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्धारमा परिचालन हुने जानकारी दिए। उनले जमिनबाट गएका फौजले भने उद्धारको काम गरिरहेको जानकारी दिए। सँगसँगै सशस्त्र र नेपाल प्रहरीसमेत उद्धारमा परिचालित छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती