
५ कात्तिक, काठमाडौं ।। नेकपा एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरेको छ। १० बुँदेलाई लिएर पार्टीभित्र १० भाइ असन्तुष्ट रहेका खबरहरु आइरहेका बेला प्रवक्ता ज्ञवालीले ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भएको बताएका हुन्।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको उनले बताए।
‘आज १० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलको बैठक पनि बसेको थियो। त्यो कार्यदलले सुझावहरु भोलि स्थायी कमिटीमा प्रस्तुत गर्नेछ। धेरै कमिटी २ जेठमा फर्किसके। केही फर्किँदैछन्। पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पनि समेटेर पार्टी गइसकेको छ। स्थानीय अन्तरविरोध हुनसक्छन्। त्यहाँ छलफल गरेर टुंग्याउँछौं। अधिकांश ठाउँमा कार्यान्वयन भइसकेको छ। बाँकी ठाउँमा पनि कार्यान्वयन गर्छौं,’ उनले बिहीबार भने।
ज्ञवालीले १० बुँदे प्रस्ताव सिंगो पार्टीको प्रस्ताव भएको अपनत्व लिएर कार्यान्वयनमा गएको उल्लेख गरे। ‘९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको छ। केही ठाउँमा भएको छैन। कार्यदलले सुझाव दिन्छ। भोलि छलफल हुन्छ। स्थायी कमिटीबाट थप निर्णय हुन्छ।’ उनकाे भनाइ थियाे।
ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए। ‘तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ। तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,’ उनले भने।