१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा/ २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने

५ कात्तिक, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमाले बैठकमा फरकमत राखेका रावलले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए ।

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् ।

प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।

२०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने

नेकपा एमालेले  २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ।  शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले  २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेका तथा नवीकरण गराएकाहरु प्रतिनिधि बन्न पाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
 
यस्तै चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय पनि भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय भएको ज्ञवालीले बताए । यस्तै प्रतिनिधिको मापदण्डका साथै आवश्यक थप निर्णय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । 
 
यस्तै महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी संगठनका प्रतिनिधि र देशभित्रका राजनीतिक पार्टीलाई निमन्त्रणा गर्ने निर्णय पनि भएको छ । बैठकले १० बुँदे कार्यान्वयन अर्को स्थायी कमिटी बैठकअघि गरिसक्न प्रयास गर्ने निर्णय पनि गरेको छ।