पश्चिममा हेलिकोप्टरमा तिन फन्को घुमेर फर्केका प्रम पूर्वमापनि वास्तविक पीडितसम्मै नपुगी फर्किए

कात्तिक ७, काठमाडौं ।। बाढी पहिरोले पुर्‍याएको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किएपछि बाढी पहिरो पीडित निराश भएका छन् ।

प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी काठमाडौं  फर्किएपछिपीडितहरूले दुःख मनाउ गरेका छन् । पीडितहरूलाई नभेटेका प्रधानमन्त्रीले पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीमार्फत भने बाढी पहिरो पीडितको अवस्था बारे जानकारी लिएका छन् ।  राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पहिरोले पुर्‍याएको क्षति बारेमा जानकारी गराइ रहँदा प्रांगणमा भने पहिरोपीडितहरू प्रधानमन्त्रीलाई कुरा राख्न पाउने आशामा थिए । देउवाले प्रमुख जिल्ला अधिकारीको कुरा सुनेपछि काठमाडाैं पुगेर राहत प्याकेज ल्याउने आश्वासन दिए । 

संक्षिप्त मन्तव्य राखेका देउवाले बाढी र पहिरोले पुर्‍याएको क्षतिको लगत संकलन भएपछि राहत घोषणा गर्ने बताए । यसअघि प्रदेश १ मा बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा विराटनगर विमानस्थलमा उत्रिएका थिए । त्यहाँ उनी चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले पुर्‍याएको क्षतिको बारेमा जानकारी लिए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  बाढी पहिरोले पुर्‍याएको क्षतिको बारेमा जानकारी गराएका थिए । 

सो अवसरमा प्रदेशका आन्तरिक मामिला मन्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा प्रदेश बाढी पहिरो र डुबानले पुर्‍याएको क्षतिको बारेमा जानकारी गराए । कार्यक्रममा प्रदेश १ का मुख्यसचिव डा। रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराए । 

मुख्यसचिव घिमिरेका अनुसार बाढी पहिरो र डुबानले पुर्‍याएको क्षतिको बारेमा जानकारी लिएपछि प्रधानमन्त्री देउवाले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । उनले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरी बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिए । 

बाढीले ज्यान गुमाएका पीडित परिवारले भेट्नै पाएनन्

बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा पनि प्रधानमन्त्री देउवालाई बाढीपीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो । 

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माग पत्र बुझाएका छन् ।

सुनसरीको पकलीबाट सिधै हेलिकोप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् । 

सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लागत संकलन भएपछि राहत कार्यक्रम ल्याउने बताए ।