टी-२० विश्वकपअन्तर्गत भारतमाथि सानदार जित निकाल्दै पाकिस्तानले रच्यो इतिहास

कात्तिक ८, एजेन्सी ।। आइसिसी टी-२० विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको छ। आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो।

विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलोपटक हो। यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो। 

सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि जित हात पारेको हो।

आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्‍यो। 

पाकिस्तानका लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।

भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।  

सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा  ३० रन खर्चिए। 

हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।