आईसीसी टी-२० विश्वकप: पाकिस्तानको दोस्रो जीत, न्यूजिल्यान्ड ५ विकेटले पराजित

१० कात्तिक, बुधबार, पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जीत निकालेको छ। मंगलबार  राति भएको सुपर १२ को समूह ‘बी’मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जीतका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो।

जीतका लागि १३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै पूरा गर्‍याे। टस जितेर बलिङ गरेको  पाकिस्तानको जीतमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए। शोएब मलिक २६ रनमा अविजित रहे।

न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए। मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।

न्यूजिल्यान्डका डेभन कन्वेले  सर्वाधिक २७ रन बनाए। कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले  सर्वाधिक ४ विकेट लिए। तीव्रगतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो। सुपर १२ को समूह ‘बी’मा पाकिस्तान २ खेलमा २ जीत साथ ४ अंकसहित शीर्ष स्थानमा छ।