चोलेन्द्र प्रकरणका ४ सम्भावित परिणाम तत्काल राजीनामा नदिए के–कस्ता परिणामहरू आउलान् ?

सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्रधानन्यायाधीश जबराले राजीनामा नदिने घोषणा गर्दै बुधबार एक्लै इजलासमा बसेर ‘जवाफी फायर’ खोलेका छन् । दुबै पक्षको अडानले गर्दा अब अदालतभित्रको यो लफडा कसरी साम्य होला भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

आइतबार र सोमबार बार एशोसिएसनका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशहरूले जबरालाई राजीनामा दिन आग्रह गरिरहँदासम्म धेरैलाई लागेको थियो कि अब उनले केही दिनभित्रै राजीनामा देलान् र अदालतको विवादले निकास पाउला ।

तर, जबराले मंगलबार न्यायाधीहरूसँगको छलफलमा राजीनामा नदिने घोषणा गरे । त्यही दिन बीबीसीमा अन्तरवार्ता दिँदै उनले राजीनामा नदिने थप अडान दोहोर्याए । उनले राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने चेतावनीसमेत दिए । र, बुधबार उनले एक्लै इजलासमा पाँचवटा मुद्दा हेरेर ‘दबाब’ को कुनै पर्वाह नगर्ने स्पष्ट सन्देश दिए ।

सर्वोच्च अदालतका लगभग सबै न्यायाधीशले बेञ्च बहिस्कार गर्ने निर्णय लिइसकेका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै देशैभरि आन्दोलन गर्ने बताइसकेको छ । सर्वोच्च अदालतका कामकारवाही तीन दिनयता अवरुद्ध छन् । वार कि पारको आन्दोलनमा उत्रिसकेका न्यायाधीशहरू अब ‘ब्याक’ भएर इजलासमा बसिहाल्ने स्थिति पनि तत्कालै देखिएको छैन । प्रधानन्यायाधीशले पनि सरक्कै राजीनामा दिएर बाटो खोलिदिने सम्भावना पनि देखिएको छैन । यस्तो टकरावपूर्ण स्थिति र संकट नेपालको न्यायिक इतिहासमा कहिल्यै देखिएको थिएन ।

यसरी हेर्दा सर्वोच्च अदालतमा भइरहेको विवादका सम्भावित परिणाम वा बाछिटाहरू मुख्यतः ४ प्रकारका देखिन्छन् :

१. राजीनामा दिने

अझैसम्म धेरैले अनुमान गरिरहेको विषय के छ भने केही दिनभित्रै प्रधानन्यायाधीश जबराले राजीनामा दिनेछन् र सर्वोच्च अदालतको विवादले निकास पाउनेछ । प्रधानन्यायाधीशले राजीनामा दिएको अवस्थामा न्यायालयले व्यहोरिरहेको क्षति रोकिनेछ र अवरोधहरू हटेर समस्या समाधान हुनेछ र इजलास सुचारु हुनेछ । ठीकै हो, जबराले राजीनामा दिए भने अदालतको यो विवाद क्षणिकरुपमै भए पनि साम्य हुने नै देखिन्छ ।  

तर, प्रधानन्यायाधीशले न्यायाधीश, बारका पदाधिकारी र नागरिक समाजको दबाबकै आधारमा राजीनामा दिने संकेत बुधबारसम्मको अवस्था हेर्दा देखिएको छैन । सत्तारुढ दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाअभियोग नलगाउने संकेत गरेको जबराले  थाहापाइसकेका छन् ।

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र अन्य सत्तारुढ दलका नेताहरूले पनि सार्वजनिकरुपमा जबराको राजीनामा मागेको देखिँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त चोलेन्द्रलाई नै राहत मिल्नेखालको अभिव्यक्ति दिइसकेको छ । यो अवस्थामा न्यायाधीश, नेपाल बार, मिडिया वा नागरिक समुदायको दबाबबाट मात्रै जबराले राजीनामा दिइहाल्ने देखिँदैन । न्यायिक समुदायको दबाबलाई उनले खासै मतलव गरेका पनि छैनन् । अब दलका नेताहरूले नै दबाव दिए भने बेग्लै कुरा ।