नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढायो

कात्तिक १३, काठमाडौं ।। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढाएको छ । शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १४५० रुपैयाँ थियो ।

मूल्य बढाउँदा पनि ग्यास बिक्रीमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा नै रहेको निगमको भनाइ छ ।

पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको हो । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो । 

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।

हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ अमेरिकी डलर पुगेकाे छ ।

यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।