मध्यविन्दु अस्पतालमा भिडीआरसीले हस्तान्तरण गर्यो बाल वार्ड

नवलपुर, । नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु अस्पतालको बाल वार्डमा आवश्यक पूर्वाधारका सामग्री हस्तान्तरण गरिएको छ । कोभिड १९ आपतकालिन सहयोग कार्यक्रम अन्तर्गत गैंडाकोटमा रहेको विजय विकास स्रोत केन्द्र भिडीआरसीले एक औपचारिक कार्यक्रमकाबीच बाल वार्ड हस्तान्तरण गरेको हो । 

अस्पताल परिसरमा निर्मित भवनबाहेक सातवटा बेड–टेवल सहित सो वार्डमा आवश्यक फनिचर्स, वार्ड इन्चार्जका लागि आवश्यक फनिचर्स, एसी लगायतका सामग्री वार्डमा सेटअप गरेर हस्तान्तरण गरेको हो । 

भिडीआरसीको पहल र संयोजन तथा अमेरिकेयर्स फाउण्डेशनको सहयोगमा प्राप्त पूर्वाधार कोभिड १९ आपतकालिन सहयोग भएपनि यसले बालबालिकाको उपचारमा दिर्घकालिन मदत पुग्नेमा बिश्वस्त रहेको सहयोग ग्रहण गर्ने क्रममा बोल्ने बक्ताहरुले बताएका छन् । 

आपतकालिन सहयोगका लागि स्थापित अमेरिकेयर्स फाउण्डेशनले २०७२ सालको भूकम्पपछि मनोपरामर्शबाट थालेको अभियान अहिलेसम्म आईपुग्दा विकास पूर्वाधारमा जोडिन थालेको फाउण्डेसनका नेपाल प्रतिनिधि बिनोदकुमार महर्जनले बताए । 

कोभिड १९ आपतकालिन सहयोग कार्यक्रमका संयोजक प्रेमप्रसाद सापकोटाका अनुसार गैंडाकोट नगर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा करिव १२ लाख बरावरको सेटअप पूर्बाधार हस्तान्तरण गरिएको बताए । यसअघि गैंडाकोटमा समेत ७ वेड सहितको सामग्री सेटअप गरि बाल वार्ड हस्तान्तरण भएको थियो । 

कुल ५७ लाख प्याकेजको कार्यक्रम अन्तर्गत गैंडाकोटमा प्रि–एम्बुलेन्स सेवा दिईरहेको सापकोटाको भनाई छ । 

यसबाहेक बिद्यार्थीका लागि कोभिड परामर्श, कोभिड लागेकाका लागि लक्षित पोष्ट कोभिड परामर्श, कोभिड सम्वन्धि रेडियो सचेतना कार्यक्रम नवलपुरका ५ वटा स्थानीय रेडियोमार्फत भईरहेको सापकोटाले बताए । 

भिडीआरसीका अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले रिवन काटेर वार्ड सञ्चालनमा आएको शुभारम्भ गरिन् । 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बीरबहादुर थापा, अस्पताल सञ्चालक समितिका सदस्य डाँसुराज पोख्रेल, कावासोती १६ का वडाध्यक्ष एकादत्त वस्ती, रेडक्रस कावासोतीका सभापति बेदप्रसाद न्यौपाने, पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली लगायतले बोलेका थिए । 

प्रमुख जिल्ला अधिकारी पंगेनीले यससरी समुदायले हातेमालो गर्दै पूर्वाधार बिकास हुँदा जनशक्ति ब्यवस्थापनमा सरकारसँग आफूले पहल गर्ने बताईन् । बालवालिका लक्षित संरचना अस्पतालमा स्थापित भएपनि हिंसा पिडित महिला र ज्येष्ठ नागरिक लक्षित छुट्टै वार्डका आवश्यकता आफूले महसुस गरेको सुनाईन् ।