
कावासोती , १६ कात्तिक
पूर्वी नवलपरासीको सदरमुकाम कावासोती नगरपालिकामा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अत्याधुनिक प्रविधि स्क्याडा जडान गरिने भएको छ ।
खानेपानी तथा ढल निकास विभाग , शहरी खानेपानी तथा सरसफाईं आयोजना मार्फत् कावासोती खानेपानी तथा सरसफाई आयोजनाका लागि करीब ५ करोड रुपिँया लागतमा अत्याधुनिक प्रविधि स्क्याडा जडान तथा संचालन गर्ने प्रकृया अगि बढेको छ ।
यो एक डिजिटल ( स्वचालित ) प्रविधि हो । यो प्रविधि मार्फत् खानेपानीको मुहान ( उत्पादन हुने ) र वितरण गर्ने स्थानमा डिजिटल मिटर जडान गरिन्छ । जसले कति उत्पादन भयो र कति खपत भयो भन्ने जानकारी दिन्छ । संस्थाका व्यवस्थापक बाबुराम ज्ञवालीले दिनुभएको जानकारी अनुसार यो प्रवृधी जडान भएपछि मोवाईस एप्स मार्फत् कार्यालयमै बसेर नियमन गर्न सकिन्छ । ‘ स्क्याडा प्रविधी कावासोती खानेपानीमा पाईलट प्रोजेक्टका रुपमा सुरु हुँदैछ । यो प्रविधी जडान भएपछि मोवाईलबाटै कुन टंकीमा कति पानी छ ? कुन पम्प चलिराछ , कुन अफ छ ? सबै अफिसबाटै मोनिटरिङ्ग गर्न सकिन्छ । ’ ज्ञवालीले भन्नुभयो ।
कावासोती खानेपानी संस्थाको छ वटा टंकी छन् । ती छ टंकीमा स्क्याडा जडान गरिने छ । ‘अहिले टंकीमा पानी थपघट भए मानिस नै पुग्नुपर्छ , कहिले पानी बढि भएर ओभरफ्लो हुन्छ कहिले कम भएर भएर सप्लाई हुँदैन् , हावाहुरी घामपानी जस्तोसुकै परिस्थीतीमा पनि भौतिक रुपमै उपस्थीत हुनुपर्छ , मान्छे पुग्न नसके प्रभावित हुन्छ तर, यो प्रविधी जडानपछि अनलाईनबाटै जहाँ बसेर पनि सबै काम गर्न सकिन्छ । ’ ज्ञवालीले भन्नुभयो ।
कावासोती खानेपानी संस्थाका अध्यक्ष भिमलाल कंडेलले प्रविधीमैत्री बन्दै गएको पछिल्लो समयमा कावासोती खानेपानीलाई पनि प्रविधीमैत्री बनाउन लागेको बताउनुभयो । खानेपानी भनेको मानिसको जिवनमा नभै नहुने भएकाले उपभोक्तालाई छिटोछरितो रुपमा सेवा दिन संस्था लागि परेको कंडेलले बताउनुभयो । स्क्याडा जडानका लागि संस्थाले प्रकृया थालिसकेको बताउँदै उहाँले बोलपत्र आह्वान भएकाले अबको केही महिनाभित्रै काम सुरु गर्ने कंडेलले जानकारी दिनुभयो ।
कावासोती खानेपानी संस्था देशकै पाँच उत्कृष्ट संस्थामध्ये एक पर्दछ । रेडियो कावासोती ।।