कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउछु : देउवा

सुनसरी । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउनुभएको छ ।

मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गर्नुभयो ।

देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राखेको आरोप लगाउँदै देउवाले प्रहरीले आचरण सुधार्नुपर्नेमा जोड दिनुभयो ।

अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने चेतावनी देउवाको छ । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नाम, थर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।

फरक प्रसङ्गमा देउवाले केपी ओली नेतृत्वको सरकार नेकपा एमाले र माओवादी केन्द्रको बहुमत प्राप्त संयुक्त सरकार भएको स्मरण गराउँदै माओवादीले समर्थन फिर्ता नलिएसम्म कांग्रेसले आफ्नो धारणा सार्वजनिक नगर्ने बताउनुभयो ।