
कात्तिक १६, काठमाडौं ।। सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने अडानमा यथावतै रहने भएका छन् ।
प्रधानन्यायाधीश जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूको मंगलवार बसेको बैठकले राजीनामाको अडानमा कायमै रहने र छलफललाई निरन्तरता दिने निर्णय गरेको एक न्यायाधीशले जानकारी दिए ।
प्रधानन्यायाधीशले मागप्रति सकारात्मक छु भने पनि स्पष्ट र ठोस प्रस्ताव आइनसकेको उनले बताए ।
‘म सकारात्मक छु । श्रीमानहरूको भावनाभन्दा बाहिर कहाँ जान्छु र भन्ने कुरा गर्नुभयो भन्ने आइराछ,’ ती न्यायाधीशले भने, ‘ सकारात्मक छु भनेर मात्र भएन, ठोस प्रस्ताव त आउनुपर्यो । प्रस्ताव आओस् न त । त्यसपछि छलफल होला, के गर्ने भन्ने होला ।’
सोही कारण न्यायाधीशहरू मंगलवार कुनै पनि इजलासमा बसेनन् ।
सोमवार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका न्यायाधीशहरू जबराको गोलमटोल कुराप्रति असन्तुष्टि जनाउँदै इजलासमा नबसेको स्रोतको दाबी छ ।
तर, बैठकमा सहभागी एक न्यायाधीशले भने बैठक लम्बिएकाले इजलासमा बस्न नभ्याएको बताए ।
‘छलफल गर्दागर्दै टुंगिएन, त्यसैले इजलासमा जाने कुरा पनि भएन,’ उनले भने ।