
कात्तिक २३, काठमाडौं ।। संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण प्रदेश संरचना कार्यान्वयनमा गएको ४ वर्ष नपुग्दै केही प्रदेशमा चार जनासम्म प्रदेश प्रमुख फेरिएका छन् ।
पहिलो कार्यकाल पुरा नहुँदै अहिलेसम्म सात प्रदेशले २४ प्रदेश प्रमुख झेल्नुपरेको छ । २०७४ मा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले सात प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्दा विवाद भएको थियो । देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली सरकारले २०७६ कात्तिकमा एकै पटक सातै प्रदेश प्रमुख बर्खास्त गरिदियो । पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपा डिजास्टरको अवस्थामा पुग्यो ।
तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल एउटा कित्तामा उभिए भने ओली अर्काे कित्तामा । त्यसको सिधै तरंग प्रदेशमा पनि पर्न गयो । तत्कालीन नेकपा टुक्रिएसँगै प्रदेशमा सत्ता फेरबदलको खेल सुरु भएपछि प्रदेश प्रमुख निशानामा परे ।
खतरामा रहेका प्रदेश सरकार जोगाउन प्रदेश प्रमुखको सहारा लिने उद्देश्यले तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारले नियुक्त गरेका माओवादी निकट प्रदेश प्रमुखलाई पनि हटाए । एमाले नेतृत्वको प्रदेश सरकार जोगाउन नयाँ प्रदेश प्रमुख पनि केही समयका लागि टेको बने । तर सर्वोच्च अदालतबाट फागुन ११ मा पुनस्र्थापित प्रतिनिधिसभालाई ओलीले जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सहारा लिएर दोस्रो पटक विघटनको निर्णय उठाए ।
ओलीको उक्त निर्णय बदर गर्दै असार २८ गते सर्वोच्चले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । त्यसपछि बनेको काँग्रेस, माओवादीलगायतका दल मिलेर बनेको गठबन्धनको सरकारको नीति प्रदेश प्रमुखका हकमा फरक देखिएन । एमालेले सत्ता राजनीतिमा प्रदेश प्रमुखबाट चलखेल हुने सक्ने सम्भावना अन्दाज गरी प्रदेश प्रमुख बर्खास्तीको नीति लियो । देउवा सरकार आएपछि तत्कालीन ओली सरकारले नियुक्त गरेका प्रदेश २, गण्डकी, लुम्बिनी र बागमतीका प्रदेश प्रमुखलाई सुरुमा हटाइए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले नियुक्त गरेका प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख पनि विदा गरेको छ । उनीहरुलाई हटाएर प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
राष्ट्रपति भण्डारीबाट सरकारको सिफारिसमा ३ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ३ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
१ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ्ग, कर्णाली प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरिएको छ ।
मंगलवार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’