छठ पर्वकाे महत्वपूर्ण दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

कात्तिक २४, काठमाडौं ।। छठ पर्वको आज बुधबार तेस्रो दिन। आजको दिनलाई छठ भनिन्छ। यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन्। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ। 

आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन्। अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन्। 

आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ। भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ। साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ। त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन्। 

छठमा विशेष गरी प्रकृतिको छैटाैँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ।

छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ। 

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ। त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ। त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।

यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ। नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व अहिले नेपालभर मानाइने गरिएको छ।

छठ पर्व: यस्ताे छ इतिहास, व्रत र पूजा विधि

छठ पर्व नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ। यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

छठपर्वको इतिहास
मानव सभ्यताको शुरुदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा चैते छठपर्व मनाइन्छ।

व्रत र पूजा विधि
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खरना भनिन्छ। षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजन राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्कन्छन्। तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ। त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ।

छठको विसर्जन
षष्ठीको भोलिपल्ट ब्रह्ममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ। छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ। विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ। छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ। केही भक्तजन घरबाट साँझ र बिहान घस्रिँदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्नेजस्ता कार्य पनि गर्छन्। सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ।

कार्तिक शुक्ल चतुर्दशीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ। अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी हर्सोल्लासका साथ मनाइने यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको समेत आराधना गरिन्छ। समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम, गरीब तथा बेसहारालाई कसैले हेर्दैनन्। तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ। त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छन्। त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ। वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ। विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ।

छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लीन भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन्। छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ। सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ।

छठको पहिलो दिन
कार्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ आरम्भ हुन्छ। तिहार लगत्तै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ। छठको शुरुवात मानिने यस दिनलाई व्रतालुहरू नहाय खाय भन्दछन्। बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन्।

छठको दोस्रो दिन
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खरना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन्। यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो।

छठको तेस्रो दिन
छठको तेस्रो दिन अर्थात छठ पर्व। यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन्। साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्। प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ। घाटलाई बेहुली झैं सिँगारिएको हुन्छ।

छठको चौंथो दिन
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन्। बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन्। त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत पूरा गर्दछन्।

यसरी चार दिनदेखिको छठपर्वको समापन हुन्छ। सूर्य उपासनाको पर्व छठ पहिले पहिले मधेशमा मात्र मनाइने गरिन्थ्यो तर हिजोआज देशभरि नै उल्लासका साथ मनाइन्छ। काठमाडौं उपत्यकामा पनि यो पर्व विशेषरूपमा मनाउने गरिएको पाइन्छ। विगत केही वर्षदेखि रानीपोखरीमा पनि उल्लासपूर्वक मनाइने यो पर्व अहिले यहाँको पुनर्निर्माण हुँदै गरेकाले कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाइने गरिएको छ। यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता छ। अन्य पर्व र चार्ड जस्तै छठपर्वको पनि आफ्नै महत्व रहेको पाइन्छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 6 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *