वायु प्रदूषण बढ्दै गएको छ, देशभर लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ: जलवायु विज्ञ

मंसिर २, काठमाडौं ।।

विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् । बंगालको खाडी र पश्चिम अरेबिया सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरहरूमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए । 

डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाडौं लगायत देशभरका केही सहरहरूमा वायुको गुणस्तर कम भएको बताएका छन् । उनले दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने जानकारी दिएका छन् । नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने  तथा तराईमा शीत लहर देखा पर्ने डा. उप्रेतीको भनाइ रहेको छ । उनले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाडौं पनि प्रभावित हुने बताएका छन् । डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगर लगायत स्थानमा वायु प्रदूषणको स्तर बिग्रिँदै गएको जानकारी दिए ।

जलवायु विज्ञ डा. उप्रेतीले भने, ‘अहिले खास अरेबिया सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबिया सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २ सय १५ मिलिमिटर भन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । वर्षा त हुँदैन, तर त्यसले उच्च हिमाली क्षेत्रमा बढी हिमपात हुने र बाक्लो कुहिरो लाग्ने ,तराईमा शीत लहर हुनसक्ने सम्भावनालाई पनि नकार्दैन । चिसो बढ्ने नै भयो, सबैभन्दा विकराल रूप यति बेला के ल्याउन सक्छ भने भारतमा अहिले प्रदूषणको मात्रा खतरा तहभन्दा माथि छ, यदि हावाको दिशा उत्तरतिर स¥यो भने दिल्लीदेखि भारतका ठूला सहरमा भएको प्रदूषणको मात्रा विराटनगर, धनगढी, महेन्द्रनगरमा आइसकेको छ ।  हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तह पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाडौंमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगहरूदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले डेथ पनि गराउन सक्छ ।’

डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताएका छन् । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताएका छन् ।